सल्यानमा स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या १० पुग्यो, दार्मामा मात्रै २८१ जना संक्रमित
सुर्खेत। सल्यानमा स्क्रब टाइफस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ। दार्मा गाउँपालिका-४ का ६२ वर्षीय जितबहादुर मल्लको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएसँगै जिल्लामा यस रोगबाट ज्यान गुमाउनेको संख्या १० पुगेको छ।
स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार असोज २८ गते सङ्क्रमण पुष्टि भएका मल्ल जिल्ला अस्पतालबाट घर फर्किएपछि पुनः श्वासप्रश्वासमा गम्भीर समस्या देखिएकाले दाङको घोराही हुँदै नेपालगञ्ज पुर्याइएको थियो। उपचारकै क्रममा उनको ज्यान गएको दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले जानकारी दिएका छन्।
स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार जिल्लाभर हालसम्म कुल ८१७ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भइसकेको छ, जसमा सबैभन्दा बढी प्रभावित दार्मा गाउँपालिका बनेको छ।
दार्मामा मात्रै २८१ जना सङ्क्रमित भेटिएका छन् भने बागचौर नगरपालिकामा २४७, कुमाख गाउँपालिकामा ८२, कपुरकोट गाउँपालिकामा ६९, जिल्ला अस्पताल सल्यानमा ६६ र छत्रेश्वरी गाउँपालिकामा ५१ जनामा संक्रमण देखिएको छ। यसैगरी बन्गाड कुपिण्डे नगरपालिकामा ११, त्रिवेणी गाउँपालिकामा ६, सिद्धकुमाख गाउँपालिकामा ३ र कालिमाटी गाउँपालिकामा २ जनामा संक्रमण पुष्टि भएको तथ्यांक छ।
वर्षायाममा बढी देखिने यो संक्रमण पछिल्लो समय घट्दै गए पनि पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेकाले स्वास्थ्यकर्मीहरूले विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। सङ्क्रमित माइत (ओरालो किर्ना) को टोकाइबाट सर्ने यो रोगको जोखिम कम गर्न घाँसदाउरा गर्दा शरीर पूरै ढाक्ने कपडा लगाउन, बुट तथा पञ्जा प्रयोग गर्न र घरवरपरका झाडी सफा राख्न सुझाव दिइएको छ।
ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने वा किर्नाले टोकेको ठाउँमा कालो दाग देखिनेजस्ता लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा जाँच गराउनुपर्ने हुन्छ, किनभने समयमै उपचार नपाएमा यसले ज्यानै जानेजस्तो गम्भीर जोखिम निम्त्याउन सक्छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment