रैथाने बाली फापर भित्र्याइँदै
मुस्ताङ। हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’ भित्र्याउने चटारो छ।
असारमा खेतबारीमा छरेको फापर बाली असोज/कात्तिकमा मुस्ताङी किसानले घरमा भित्र्याउने गर्छन्। हिमाली तथा उच्च पहाडी जिल्लामा उत्पादन हुने फापर यहाँ वर्षौँदेखि अपनाउँदै आइरहेको प्रसिद्ध रैथाने खाद्य बालीमध्येको एक हो।
समुद्री सतहको दुई हजारदेखि पाँच हजार मिटरको उचाइको खेतीयोग्य जमिनमा फापर खेती गर्ने गरिएको छ। हिमाली जिल्ला मुस्ताङमा उवा, जौ, मकै, आलु, बोडीलगायत खाद्य बालीसहित फापर बाली पनि मुख्य ‘ब्रान्ड’ बनेको छ। अन्य खेतीको तुलनामा फापर खेती कम झन्झटिलो भए पनि मुस्ताङका किसानले व्यावसायिक रूपमा मात्रै नभई घरायसी प्रयोजन र देश–विदेशमा बस्ने आफन्त/इष्टमित्रलाई कोसेलीका रूपमा दिन फापर खेती गर्ने प्रचलन रहेको छ।
मङ्सिरमा लगाइएको उवा र जौ थन्क्याएपछि मुस्ताङका किसानले फापर छर्ने प्रचलन रहेको घरपझोङ–५ ठिनी गाउँका किसान सविता थकालीले जानकारी दिइन्। यसरी छरिएको फापर असोजको अन्तिम सातादेखि कात्तिकको दोस्रो सातासम्म भित्र्याउने गरिन्छ।
मुस्ताङको मुख्य उत्पादनका रूपमा रहेको रैथाने फापर खेती मुस्ताङका पाँचवटै स्थानीय तहमा उत्पादन हुने गर्छ। मुस्ताङको थासाङ–१ टुकुचेदेखि माथि लोमान्थाङको सीमावर्ती गाउँसम्म व्यावसायिक तथा घरायसी प्रयोजनका लागि फापर खेती गर्ने गरिएको छ।
घरपझोङ–५ ठिनी गाउँका स्थानीय किसान अमित थकालीका अनुसार वर्षेनि उत्पादन गरिएको फापर घरायसी खर्चमा चाहिने छुट्याएर केही मात्रामा बिक्री गर्ने गरिएको छ। खेतबारीमा छरेको फापर १०० दिनमा पाकेर घरमा भित्र्याउने गरिन्छ।
यसैगरी स्याउ बगैँचाभित्रको खाली जमिनमा फापर खेती गर्ने गरिएको उनको भनाइ छ। सडक सञ्जालले नजोडिँदा मुस्ताङमा उत्पादित कृषिजन्य वस्तुको बजारीकरणमा निकै समस्या पर्ने गरेकामा पछिल्लो समय सडक सञ्जालले जोडिएपछि फापरलगायतका रैथाने खाद्य अन्नबाली सहज रूपमा बिक्री हुन थालेको उनले बताए।
फापरको पिठोबाट ढिँडो र रोटीलगायतका विभिन्न परिकार बनाएर खाने प्रचलन छ। मुस्ताङमा आउने पर्यटकका लागि फापरको ढिँडो र रोटी मुख्य आकर्षण बन्न थालेका छन्। विशेषगरी स्थानीय चाडपर्वमा फापरको पिठो प्रयोग गरिन्छ। हिमाली तथा उच्च पहाडी क्षेत्रमा उत्पादन हुने फापरको पिठो हिजोआज सहर/बजारका भान्साघर र होटलमा मुख्य परिकारका रूपमा ग्राहकलाई पस्किने गरेको पाइन्छ। रासस
No ads found for this position



डिसी नेपाल
Facebook Comment