थिमिमा मल्लकालीन युद्धकला झल्काउने खाँ पिहाँवइगु जात्रा सम्पन्न

डिसी नेपाल
५ कार्तिक २०८३ १६:४६
4
Shares

भक्तपुर । असोज शुक्ल पक्षको एकादशीका अवसरमा बिहीबार भक्तपुरको मध्यपुरथिमिमा मल्लकालीन युद्धको झल्को दिने गरी खाँ पिहाँवइगु जात्रा सम्पन्न भएको छ।

तत्कालीन राजदरबारको रूपमा रहेको लाय्कुस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल, युद्धकवचलगायत मल्लकालीन युद्धमा प्रयोग हुने साधन बोकेर युद्धकला प्रदर्शन गर्दै उक्त जात्रा सम्पन्न गरिन्छ।

दरबारसँग सम्बन्धित फरक समुदायलाई सहभागी गराइने खाँ पिहाँवइगु जात्रामा गुठियारले जामा लगाई खड्ग, ढाल र तरबार हातमा बोकेर नगरका विभिन्न टोलमा तत्कालीन युद्धकला प्रदर्शन गर्छन्।

तत्कालीन दरबारबाट निकालिने यो जात्रा थहनेया टोल (माथिल्लो टोल) का रूपमा इनाएटोल, दुईपोखरी हुँदै दिगु भैरवसम्म र कोहनेया टोल (तल्लो टोल) का रूपमा दथुटोल हुँदै बालकुमारीसम्म प्रदर्शन गरिने परम्परा छ।

जात्रामा दसैँको नवमीमा तलेजु भवानीलाई चढाइएको बलि र कोतभित्र अवस्थित देवता तथा दरबारको राजदण्डलाई सम्मिलित गराएर नगर परिक्रमा गराइन्छ।

जात्राका अवसरमा बालकुमारीमा कुभिण्डोमा प्रहार गरेर बलि दिइन्छ। बलि दिइएको कुभिण्डो प्रसादका रूपमा लिए रोगबाट बच्न सकिने जनविश्वास रहेको छ। जात्रा अवलोकनका लागि स्थानीयवासीको ठूलो भीड लाग्ने गर्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *