आनी छोइङ डोल्मा नियुक्ति बहस: ‘प्रमाणबिनाको आरोप कि जिम्मेवार प्रश्न?’
काठमाडाैं। आनी छोइङ डोल्माको पृथक परिचय छ । उनको जीवन निकै संघर्षपूर्ण रूपमा हुर्किएको र प्रेरणादायी पनि छ । बौद्ध मन्त्र र आध्यात्मिक सङ्गीतलाई आधुनिक शैलीमा प्रस्तुत गरेर उनले अन्तर्राष्ट्रिय ख्यातिसमेत कमाइन्।
दुर्गालाल श्रेष्ठको शब्द र न्ह्यू वज्राचार्यको संगीत रहेको ‘फूलको आँखामा फूलै संसार’ गीतमार्फत उनी सबै उमेर वर्गका नेपालीहरूमाझ परिचित भइन्। ‘फूलको आँखामा’ पुस्तकमा समेटिएको बाल्यकाल, पारिवारिक सम्बन्ध, गुम्बा जीवन, संगीत र सामाजिक सेवाको सन्दर्भ र सोही विषय समेटिएको ‘सिङ्गिङ फर फ्रिडम’ पुस्तकमार्फत उनी अन्तर्राष्ट्रिय जगत्मा परिचित भइन्।
शिक्षा, स्वास्थ्य र मानवीय सेवा साथै सन् २००० मा स्थापना गरिएको आर्य तारा स्कुलमार्फत उनले अनेकौँ सेवाहरू गरिरहेकी छन्। युनिसेफ र विश्व वन्यजन्तु कोषजस्ता संस्थासँग जोडिएकी उनको सामाजिक सेवामार्फत पुर्याएको योगदानको शृंखला लामो छ।
लोभलाग्दो प्रोफाइल र मधुर स्वरका कारण सबैको प्रिय बनेकी उनी यतिबेला विवादमा तानिएकी छन्। उनको सम्पत्ति र नागरिकताको विषय बढी चर्चामा छ। दुवै विषयमा कुनै निकाय वा व्यक्तिहरूले गहन अध्ययन गरेर वास्तविक विवरण सार्वजनिक नगरे पनि सोही विषयमाथि पक्ष-विपक्षमा बहस भइरहेको छ। सबैभन्दा बढी सामाजिक सञ्जाल तातेको छ।
सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा ३० असोज २०८३ को मन्त्रिपरिषद् बैठकले उनलाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गरेपछि उनीसँग जोडिएको सम्पत्ति शुद्धीकरण र नागरिकताको विषय एकाएक चर्चामा आएको हो। उक्त विषयले गर्दा उनी विवादमा तानिएकी हुन्।
विश्वभरका बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र लुम्बिनीको संरक्षण र विकास गर्ने संस्थामा उनको नियुक्तिको विरुद्धमा ठूलो समूह सक्रिय नरहे पनि केही व्यक्तिहरू खुलेर विरोधमा उत्रिएका छन्।
लुम्बिनी बचाउ महाअभियानले शृंखलाबद्ध विरोधका कार्यक्रमहरू आयोजना गरिरहेको छ। आनीको नियुक्ति बदर गर्न माग गर्दै शुक्रबार पनि लुम्बिनीको पर्साचोकमा विरोध प्रदर्शनको कार्यक्रम तय गरिएको थियो। तर सरकारले यसबारे कुनै प्रतिक्रिया जनाएको छैन। यद्यपि, केही प्रतिष्ठित व्यक्ति तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पक्ष-विपक्षमा आफ्नो धारणा राखिरहेका छन्।
कोशिस लोब्साङ वाइबा
फिल्म निर्देशक कोशिस लोब्साङ वाइबाले भनेका छन्, ‘नियुक्तिपछि उठेका प्रश्न र आलोचनाबीच एउटा कुरा भने बिर्सनु हुँदैन, कुनै पनि व्यक्तिमाथि आरोप लगाउनुअघि उनको जीवन, संघर्ष र समाजमा पुर्याएको योगदानबारे पनि अध्ययन गर्न आवश्यक छ।’
आनी छोइङ डोल्मा केवल एउटा परिचय वा पदमा सीमित व्यक्ति होइनन्। उनी गायनमार्फत विश्वभर चिनिएकी नेपाली बौद्ध भिक्षुणी हुन्। उनले आफ्नो जीवनको ठूलो हिस्सा आध्यात्मिक साधना, सामाजिक सेवा र मानव कल्याणका कामसँग जोड्दै आएकी छन्। शिक्षा र महिला सशक्तीकरणका क्षेत्रमा समेत उनको योगदान चर्चामा रहेको छ।
मानवताका लागि काम गर्ने बाटो रोज्नु, आफ्नो जीवनलाई अरूको हितसँग जोड्नु र समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रयास गर्नु सामान्य कुरा होइन। त्यसैले उनको काम र योगदानको मूल्यांकन गर्दा पनि यी पक्षलाई नजरअन्दाज गर्नु हुँदैन।
यसको अर्थ आनी छोइङ डोल्मामाथि उठेका सबै प्रश्न गलत छन् वा उनी आलोचनाभन्दा माथि छन् भन्ने होइन। सार्वजनिक पदमा नियुक्त हुने जोकोही पनि आफ्नो जिम्मेवारी, निर्णय र कार्यसम्पादनका विषयमा प्रश्नको सामना गर्न तयार हुनुपर्छ। आरोप छन् भने तिनको निष्पक्ष छानबिन हुनुपर्छ र तथ्यका आधारमा निष्कर्ष निकालिनुपर्छ।
तर प्रश्न उठाउने नाममा वर्षौँको योगदानलाई पूर्णतः बेवास्ता गर्नु वा पुष्टि नभएका आरोपकै आधारमा कसैको सम्पूर्ण व्यक्तित्वमाथि निर्णय सुनाउनु उचित हुँदैन।
कसैको आलोचना गर्नुअघि उनले जीवनमा के गरे, समाजलाई के दिए र उनीमाथि लागेका आरोपको वास्तविक आधार के हो भन्ने बुझ्न आवश्यक छ। व्यक्तिको योगदानलाई सम्मान गर्दै प्रश्न सोध्ने र आरोपलाई प्रमाणका आधारमा जाँच्ने संस्कार नै जिम्मेवार समाजको पहिचान हो।
विनोद त्रिपाठी
पत्रकार विनोद त्रिपाठीले आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरिएको विषयमा उठेका आलोचनामाथि प्रश्न उठाएका छन्। उनले आनीको सामाजिक, सांस्कृतिक र आध्यात्मिक योगदानको चर्चा गर्दै यस्तो नियुक्तिलाई सकारात्मक रूपमा हेर्नुपर्ने धारणा राखेका छन्।
त्रिपाठीका अनुसार आनी छोइङ डोल्मा नेपालकी चर्चित बौद्ध भिक्षुणी, गायिका तथा समाजसेवी हुन्। बौद्ध मन्त्र र आध्यात्मिक सङ्गीतलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन उनले महत्त्वपूर्ण योगदान पुर्याएकी छन्।
‘फूलको आँखामा फूलै संसार’ जस्ता गीतमार्फत प्रेम, करुणा र सकारात्मक सोचको सन्देश फैलाएकी आनीले सङ्गीतसँगै शिक्षा, स्वास्थ्य र महिला सशक्तीकरणका क्षेत्रमा पनि काम गर्दै आएकी छन्।
उनले आनीको योगदान सङ्गीतमा मात्र सीमित नभएको उल्लेख गर्दै भिक्षुहरूको शिक्षा, बालिकाको शैक्षिक अवसर तथा स्वास्थ्य सेवासँग सम्बन्धित सामाजिक कार्यमा उनको संलग्नतालाई महत्त्वपूर्ण मानेका छन्। त्रिपाठीको विचारमा यस्ता अनुभवले लुम्बिनी विकास कोषको नेतृत्वमा आनीको भूमिका उपयोगी हुन सक्ने आधार प्रदान गर्छन्।
आनीको नियुक्तिमाथि प्रश्न उठाउनेहरूलाई लक्षित गर्दै त्रिपाठीले महिला नेतृत्वप्रति समाजको दृष्टिकोणबारे पनि प्रश्न गरेका छन्। उनले नेपालमै जन्मिएर नेपाली समाजका लागि योगदान पुर्याएकी महिलाको नियुक्तिमा आलोचना गर्नेहरूले अन्य धार्मिक संस्थामा विदेशी मूलका व्यक्तिहरूलाई जिम्मेवारी दिइँदा किन समान रूपमा प्रश्न उठाउँदैनन् भन्ने जिज्ञासा राखेका छन्।
विशेषगरी पशुपतिनाथ मन्दिरमा भारतीय पुजारी नियुक्त हुने विषयसँग तुलना गर्दै उनले धार्मिक संस्थाहरूको नेतृत्व र नियुक्तिमा समान मापदण्ड अपनाइनुपर्ने धारणा व्यक्त गरेका छन्। साथै, लुम्बिनी बौद्ध धर्मावलम्बीका लागि अन्तर्राष्ट्रिय महत्त्वको केन्द्र भएकाले त्यहाँको नेतृत्वले नेपालसँगै विश्वभरका बौद्ध समुदायको विश्वास जित्न सक्नुपर्ने उनको तर्क छ।
त्रिपाठीले आनीमाथि उठाइएका केही आर्थिक तथा अन्य विवादसम्बन्धी दाबीलाई अप्रमाणित हल्लाका रूपमा चित्रण गरेका छन्। यद्यपि, यस्ता दाबीको सत्यता सम्बन्धित प्रमाण र आधिकारिक विवरणका आधारमा छुट्टै मूल्याङ्कन गरिनुपर्छ।
त्रिपाठीको मुख्य प्रश्न छ- नेपालमै जन्मिएर नेपाली समाजका लागि योगदान पुर्याएकी महिलाको नियुक्तिको विरोध गर्दा राष्ट्रियता, लैङ्गिक समानता र धार्मिक संस्थाहरूमा नियुक्तिको मापदण्डलाई एउटै दृष्टिकोणबाट हेरिएको छ कि छैन?
आनीको नियुक्तिबारे समर्थन र आलोचना दुवै पक्षका तर्कलाई तथ्य, योग्यता, पारदर्शिता र जिम्मेवारीका आधारमा मूल्याङ्कन गर्नु महत्त्वपूर्ण देखिन्छ।
युवराज लामा
आनी छोइङ डोल्मा मोक्तानलाई लुम्बिनी विकास कोषको नेतृत्वमा नियुक्त गरिएकोमा खुसी लागेको छ। विश्वभरि बौद्ध भिक्षुणी, गायिका तथा समाजसेवीका रूपमा परिचित उहाँ अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तित्व हुनुहुन्छ।
मन्त्रालय र सरकारले आवश्यक सहयोग तथा सहजीकरण गरेमा उहाँले लुम्बिनीको विकास र प्रवर्द्धनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्रोतबाट उल्लेखनीय बजेट जुटाउन सक्नुहुन्छ। तर, लुम्बिनी विकास कोषमा लामो समयदेखि रहेका संरचनागत समस्या र भ्रष्टाचारसम्बन्धी चुनौतीका बीच उहाँले कति प्रभावकारी रूपमा काम गर्न सक्नुहुन्छ भन्ने कुरा आगामी दिनमा स्पष्ट हुनेछ।
जीवनमा अनेकौँ दुःख, कठिनाई र संघर्ष पार गर्दै अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल आनी छोइङ डोल्माको जीवनयात्रा प्रेरणादायी छ। उहाँका सांगीतिक कार्यक्रममार्फत ठूलो आर्थिक सङ्कलन हुने गरेको सन्दर्भमा, उहाँको लोकप्रियता, अन्तर्राष्ट्रिय सम्बन्ध र अनुभवलाई लुम्बिनीको विकास, संरक्षण तथा विश्वव्यापी प्रचारप्रसारमा उपयोग गर्न सके महत्त्वपूर्ण योगदान पुग्न सक्छ।
अब उहाँलाई आवश्यक सरकारी सहयोग, काम गर्ने अनुकूल वातावरण र जिम्मेवारी निर्वाह गर्ने पर्याप्त अवसर प्रदान गर्नु आवश्यक छ।
आनी याङचेन डोल्मा
आनी याङचेन डोल्माले उक्त नियुक्तिको बचाउ गरेकी छन्। उनले आनी छोइङ डोल्माको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति, अनुभव र सामाजिक सेवाभावलाई देशको हितमा उपयोग गर्नुपर्ने बताएकी छन्।
आनी याङचेन डोल्माले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पहिरन, जातीय पहिचान वा सांस्कृतिक पृष्ठभूमिका आधारमा कसैको राष्ट्रियतामाथि प्रश्न उठाउनु गलत भएको टिप्पणी गरेकी छन्।
उनले लेखेकी छन्, ‘हुँदाहुँदा म त तिब्बती एजेन्ट भइसकेँ भने आनी छोइङ डोल्माज्यूको के कुरा गर्नु? त्यसो भए रातो, पहेँलो र गेरुवा लगाउने सबै तिब्बती भए, हैन त? कति साँघुरो सोच हाम्रो?’
उनले तामाङ समुदायका व्यक्तिलाई तिब्बती र मधेसी समुदायका व्यक्तिलाई भारतीयका रूपमा हेर्ने सङ्कीर्ण सोच त्याग्नुपर्नेमा जोड दिएकी छन्। आफ्नै देशका नागरिकको पहिचान र राष्ट्रियतामाथि प्रश्न उठाएर भ्रम तथा द्वेष फैलाउनु उचित नभएको उनको भनाइ छ।
उनले आनी छोइङ डोल्माले धार्मिक संगीत, अन्तर्राष्ट्रिय पहिचान र सामाजिक सेवामार्फत पुर्याएको योगदानलाई पनि स्मरण गरेकी छन्। भिक्षुणीले भजन गाएर प्राप्त गरेको दानसमेत सेवामूलक कार्यमा प्रयोग हुने भएकाले त्यसलाई विवादको विषय बनाउनुको औचित्यमाथि उनले प्रश्न उठाएकी छन्।
उनले आनी छोइङ डोल्माको नियुक्ति महिलाले नेतृत्व गर्ने अवसरसँग पनि जोડી महिलाले नेतृत्व लिन नहुने हो भन्ने प्रश्न गरेकी छन्।
आनी छोइङ डोल्माको अन्तर्राष्ट्रिय ख्याति, अनुभव र सामाजिक सेवाभावलाई उचित रूपमा उपयोग गर्न सके लुम्बिनीको विकास, संरक्षण तथा विश्वव्यापी प्रचारप्रसारमा योगदान पुग्न सक्ने आनी याङचेन डोल्माको धारणा छ। उनले सरकारले आवश्यक सहयोग, स्रोतसाधन र अनुकूल वातावरण उपलब्ध गराउनुपर्नेमा समेत जोड दिएकी छन्।
विश्व सिंह मेवाहाङ
आनी छोइङ डोल्माको बारे जेजति आरोपहरू आएका छन्, ती सबै निराधार छन् भन्ने चाहिँ लाग्दैन। जस्तो उनको खातामा २०७५ सालमा विदेशबाट आएको १८ करोड रुपैयाँ। डोल्माले यसबारे पटक-पटक भनिन् छिन् : त्यो रकम विदेशमा गीत गाएर कमाइएको हो।
उनको यो भनाइ विश्वास गर्न लायक छैन किनकि गीत गाएर त्यति धेरै रकम कमाउन सक्ने हैसियतमा कुनै नेपाली कलाकार पुगिसकेको जस्तो लाग्दैन। अर्कोतर्फ सांसारिक मोहबाट टाढा बस्नुपर्ने कठोर धार्मिक सिद्धान्तका अनुयायी किन अपार पैसाको लागि काम गर्छिन् त? तर उनले सहज उत्तर दिन्छन्— म समाजसेवा गर्छु।
नेपालमा समाजसेवा नै एउटा यस्तो व्यवसाय हो जहाँ राज्यको कुनै नियम, कानुन र विधि–विधानले छुन सक्दैन। समाजसेवाको खोलभित्र जतिसुकै डरलाग्दा अपराधहरू पनि लुक्न सक्छन्। यसका दृष्टान्तहरू हामीले देखिरहेका छौँ।
सूर्य थापा
‘फूलको आँखामा फूलै संसार’ गीतबाट लोकप्रिय बनेकी आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्ष बनेएपछि एमाले नेता सूर्य थापा आलोचनामा उत्रिएका छन्। उनले नियुक्तिलाई लिएर सम्पत्ति शुद्धीकरण, नागरिकता र नेपालको विदेश नीतिसँग जोडिएका प्रश्न उठाएका छन्।
तर, गम्भीर विषय उठाउनु र आरोप लगाउनु फरक कुरा हुन्। प्रमाण र आधिकारिक निष्कर्षबिना सार्वजनिक रूपमा शङ्का व्यक्त गर्दा व्यक्तिको प्रतिष्ठामाथि प्रश्न उठ्न सक्छ। लुम्बिनी जस्तो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वको सम्पदाको नेतृत्वबारे बहस तथ्य, पारदर्शिता र कानुनी आधारमा हुनुपर्छ— राजनीतिक आरोप–प्रत्यारोपमा मात्र सीमित हुनु हुँदैन।
नरेन्द्रराज प्रसाईं
सूर्यविक्रम ज्ञवाली, लैनसिंह वाङ्देल, डा. वानीरा गिरी, अम्बर गुरुङ र गोपाल योञ्जन भारतीय नागरिक थिए।
श्री ५ महेन्द्रले यी पाँच जना प्रतिभाशाली प्रवासी नेपालीलाई विविध तरिकाले नेपाल ल्याएका थिए।
तर जन्मसिद्ध नेपाली नागरिक आनी छोइङलाई अनेक तरहको छाप लगाएर लखेट्ने कारण चाहिँ के हो?
यदि आनी दोषी छिन् भने कानुन छैन र? चित्त नबुझे निसाफ माग्ने ठाउँमा पुगे हुँदैन र? हचुवामा उफ्रिनुको अर्थ के हुन्छ?
आनी छोइङको राजनीति छ छैन, व्यापार छ छैन या अरू थोक केही छ छैन मलाई थाहा छैन। तर यति हो उनी प्रतिभाशाली स्रष्टा हुन्, उनको स्वरले जनमन छोएको छ र नेपाली भाषालाई अन्तर्राष्ट्रिय विस्तारका लागि उनको पनि आफ्नै प्रकारको भूमिका जोडिएको छ।
अर्को कुरा, देशभक्त राजाले खोजी–खोजी प्रतिभा बटुल्थे अनि हामी चाहिँ पोल्टामा भएको हीरा भुइँमा झार्न चाहन्छौँ। यसको कारण কি होला?
फूलको आँखामा फूलै संसार काँडाको आँखामा काँडै संसार!
आनीको आफ्नै भनाइ
तर आनी छोइङ डोल्माले आफ्नो निजी मामलाका बारेमा आइरहेका प्रतिक्रियाहरूबारे आफू विचलित नभएको प्रतिक्रिया दिएकी छन्।
‘म सत्कर्ममा विश्वास गर्छु। कहिलेकाहीँ यस्ता अप्ठ्याराहरू आइपर्छन्। भगवान् बुद्धलाई पनि उक्त स्थानमा अवसर दिएको खण्डमा आलोचना हुन्थ्यो होला, हाम्रो समाज नै त्यस्तै छ। कतैबाट परिचालित भएर केही व्यक्तिहरू लागिरहेका छन् कि जस्तो लाग्छ। मेरा विषयमा जे-जस्ता टिप्पणीहरू भइरहेका छन्, त्यसबारे एक–एक गरेर जवाफ दिन सकिँदैन, जे छ भोग्दै जाने हो, बुझ्नेले बुझ्नुभएकै छ तर म विचलित भएको छैन। सरकारले गरेको विश्वासप्रति आभारी छु,’ उनले भनिन्, ‘सम्पत्ति शुद्धीकरणको विषय सन् २०१८ को अन्त्यतिर नै क्लियर भएको हो। सरकारले पनि मेरो बारेमा राम्रोसँग बुझेरै विश्वास गरेको होला। मैले सरकारलाई भेटेर नियुक्ति पाउनुपर्यो भनेर निवेदन दिएको होइन, कसैलाई भनेको पनि छैन तर विश्वास गर्नुभएको छ। यो त मेरो सत्कर्मको फल होला नि।’
सम्पत्ति शुद्धीकरणको विषय आइसकेपछि कर्मचारीतन्त्रबाट आफूले धेरै दुःख पाएको उनले सुनाइन्। ‘ब्यूरोक्रेसीबाट त्यसबेला धेरै दुःख पाएँ। घुसखोरी र कमिसनको खेल धेरै नै चल्ने गरेको थियो त्यसबेला, त्यसको सिकार भएँ। सोझो बाटोबाट अर्थात् बैंकबाटै आएको पैसाको विषयलाई लिएर हैरानी दिइयो। गलत बाटोबाट आएको भए अपराधिकरण गर्न मिल्थ्यो होला तर लिगल च्यानलबाट पैसा आउँदा अनावश्यक हैरानी दिने काम भएको थियो। त्यो विषय त्यसैबेला टुंगिसकेको हो,’ उनले अगाडि भनिन्, ‘त्यसबेला हङकङको बैंकबाट नेपालको बैंकमै आएको पैसा हो। कुनै गलत बाटोबाट आएकै होइन। हङकङ खराब सूचीमा सूचीकृत भएको देश पनि होइन। नेपाल सरकारको पनि आफ्नो प्रक्रिया र कानुनी बाटो समातेर नै काम गर्नुभएको होला, मैले गलत गरेको भए कहाँ छाड्थ्यो होला त, नियम पुर्याएकै थिएँ तर दुःख दिने नियतले कमिसन माग्ने काम भएको थियो। मैले नियमसङ्गत ढङ्गबाट पार लगाएँ।’
नागरिकताको विषयमा पनि उनले स्पष्ट पारेकी छन्। आफू नेपालमा जन्मिएको ५५ वर्षपछि यस्तो विषय उठाउनु जायज नभएको उनको तर्क छ।
‘अरे म यो देशमा जन्मेको ५५ वर्ष भयो। यो विषय पनि उठाउने कुरा हो र? सोध्नेहरूले पनि के सोधिरहेका छन्, अचम्ममा परेको छु। मनमा जे आयो सोधेर हुन्छ र? मिडियाले पनि सम्बन्धित निकायमा गएर खोजतलास गरेर लेख्नुपर्यो नि। यस्ता कुराहरूको पछि लाग्यो भने मान्छे बौलाउँछ। अनि नचाहिने पाप कर्ममा बेसी डराइन्छ। म भाग्यमानी मान्छे हुँ, गुरुको आशिर्वाद छ, सत्कर्ममा लागिरहेको छु।’
कोषको उपाध्यक्ष पद आफ्नो ठूलो जिम्मेवारी भएको उल्लेख गर्दै उक्त जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाइन्। ‘म यतिबेला धेरै डराएको छु किनभने त्यो जिम्मेवारी मलाई आइपरेको छ। पूरा गर्नुपर्ने बाध्यता छ, त्यो सक्दिन कि भनेर डराएको छु, अरू केहीको डर छैन। जिम्मेवारी कसरी पूरा गर्ने भनेर सोचिरहेको छु। तर यति कुरा स्पष्ट पार्न चाहन्छु— बुद्धको सेवा गर्ने ठूलो अवसर पाएको छु, टाउकोले टेकेर पूरा गर्छु। जस्तासुकै विघ्न आओस् बेमतलबका साथ म मेरो आफ्नो धर्म निर्वाह गर्छु,’ उनले स्पष्ट पारिन्।
आफू डाँडामा बसेर आनन्दको जीवन जिउने सोचिरहेका बेला सरकारले एउटा पवित्र संस्थालाई अझै राम्रो गर्नुपर्यो भनेर आफूलाई अवसर दिएको उल्लेख गर्दै सरकारप्रति सम्मान रहेको प्रतिक्रिया दिइन्।
विगतमा लुम्बिनी विकास कोषको उपाध्यक्ष बन्नका लागि ठूलो पैसाको चलखेल हुने गरेको आफूले सुन्दै आएको बताएकी उनले पैसाका नाममा संस्थालाई बदनाम गर्न नहुने पनि बताइन्।
विश्वमा लुम्बिनी एउटै मात्र रहेकाले उक्त ठाउँलाई पवित्र उद्देश्य र राम्रो योजनाका साथ धेरै काम गर्न सकिने पनि उनले औँल्याइन्। आफू कोषको जिम्मेवारी सम्हालेपछि गलत काम नगर्ने र विगतमा गलत नियतका साथ भएका कामहरू सार्वजनिक गर्ने भन्दै उनले अगाडि भनिन्, ‘जिन्दगीमा मैले पैसा अरुलाई दिनेबाहेक लिने गरेको छैन। राम्रो काम हुन लाग्दा केही व्यक्तिहरू सक्रिय भएका छन्, ति सिमितको संख्यामा छन्। मलाई केही फरक पर्दैन।’
-नेपाल न्युज बैंक
No ads found for this position



डिसी नेपाल
Facebook Comment