हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार

हेमन्त केसी
६ कार्तिक २०८३ १६:१४
48
Shares

सुर्खेत। हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको उच्च पाटनमा हिमपातपछि बेपत्ता भएका ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार गरिएको छ।

चरनका लागि पाटनमा छाडिएका चौँरीगाई, घोडा र झोपासहितका पशु लाप्चा क्षेत्रको साँक्या खोलामा फेला परेका हुन्।

लिमीका वडाध्यक्ष पाल्जोर तामाङसहित स्थानीयवासीको टोलीले खोजीका क्रममा ती पशुलाई हिउँमा उभिएको अवस्थामा फेला पारेको हो। उद्धार गरिएका पशुलाई तुम्लिङमा सुरक्षित रूपमा ल्याइएको वडाध्यक्ष तामाङले जानकारी दिए।

२७ दिनसम्म घाँस नखाई बाँचे

गत असोज १० र ११ गते भएको भारी हिमपातपछि ग्याउ खोला र लिङ खोलाका पाटनमा चरिरहेका तीन सयभन्दा बढी पशु बेपत्ता भएका थिए।

लामो समयसम्म पशु फेला नपरेपछि स्थानीयवासीले तिनलाई जीवितै भेट्ने आशासमेत कम गरिसकेका थिए। तर, खोजीमा गएको टोलीले साँक्या खोलामा पशुहरू जीवितै फेला पारेपछि स्थानीयवासी खुसी भएका छन्।

वडाध्यक्ष तामाङका अनुसार पशुको खोजीका लागि चारवटा समूह बनाएर टोली परिचालन गरिएको थियो। खोजीका क्रममा ३०७ पशु सकुशल फेला परेपछि उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको उनले बताए।

‘२७ दिनसम्म घाँस नखाएर पनि पशुहरू बाँच्न सफल भएछन्। जीवितै भेटिने आशा कम भइसकेको अवस्थामा पशुहरू फेला परेपछि हामी खुसी भएका छौँ,’ उनले भने।

उद्धार गरिएका पशुमध्ये ५० वटा घोडा, २० वटा झोपा र २३७ वटा चौँरीगाई रहेका छन्। लामो समयसम्म हिउँमा फसेका घोडाले आफ्नो पुच्छर आफैँ खाएको अवस्थामा भेटिएको वडाध्यक्ष तामाङले बताए। उद्धार गरिएका कुनै पनि घोडाको पुच्छर बाँकी नरहेको उनको भनाइ छ।

पशुको खोजीका लागि चारवटा समूह परिचालन गरिएकामा तीनवटा समूह अझै खोजीमै रहेको उनले जानकारी दिए। बाँकी समूहले खोजी जारी राखेकाले थप पशु फेला पर्न सक्ने अपेक्षा गरिएको छ।

भारी हिमपातका कारण उच्च पाटनमा चरिरहेका पशु बेपत्ता भएपछि स्थानीयवासी चिन्तित बनेका थिए। ठूलो संख्यामा पशु हराएपछि नाम्खा गाउँपालिकाले खोजी कार्यलाई सहज बनाउन ताक्चीदेखि ग्याउ खोलासम्मको सडकमा जमेको हिउँ पन्छाउन टेन्डर आह्वान गरेको थियो।

सडकमा जमेको हिउँ पन्छाएपछि बेपत्ता पशुको खोजीमा सहज भएको हो। लामो समयसम्म हिउँमा फसेका पशु जीवितै भेटिएपछि लिमीवासीले राहत महसुस गरेका छन्। हिमपातका कारण उच्च हिमाली क्षेत्रमा पशुचौपाया जोखिममा पर्ने समस्या फेरि एकपटक उजागर भएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *