हमासले पुनः आक्रमण गर्न सक्ने इजरायली प्रधानमन्त्रीको आशङ्का

डिसी नेपाल
६ कार्तिक २०८३ १६:२८
52
Shares

काठमाडौं । इजरायलका प्रधानमन्त्रीले हमासले फेरि आक्रमण गर्न सक्ने आशङ्का व्यक्त गरेका छन्।

प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा लेखेको छ, ‘मैले रक्षा मन्त्री, आईडीएफ (इजरायली सेना) का चीफ अफ स्टाफ, इजरायलको आन्तरिक सुरक्षा एजेन्सी (आईएसए) का निर्देशक, राष्ट्रिय सुरक्षा सल्लाहाकार र आईडीएफको सेन्ट्रल कमान्डका कमान्डरसँग सुरक्षा अवस्थाको समीक्षा गरेको छु।’

वक्तव्यमा अगाडि भनिएको छ, ‘हमासका आतङ्ककारीहरूले निर्दोष नागरिकहरूको हत्या गर्ने उद्देश्यका साथ ठूलो आक्रमणको योजना बनाइरहेको देखिन्छ। त्यहाँ ठूलो मात्रामा हतियार तथा गोलाबारुद फेला पर्नुले यसको सङ्केत गर्दछ। हाम्रा साहसी सैनिकहरूले साहस र दृढ सङ्कल्पका साथ यस आक्रमणलाई विफल पारिदिएका छन्। म उनीहरूको कारबाहीको प्रशंसा गर्दछु र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’

‘मैले आईडीएफ र सुरक्षा बलहरूलाई हेब्रोन सहरलाई तत्काल घेराबन्दी गर्न र यहूदिया तथा सामरियाबाट हुने आतङ्ककारी आक्रमणहरू रोक्न अतिरिक्त सुरक्षा उपायहरू अपनाउन निर्देशन दिएको छु।’

नेतान्याहूले अगाडि लेखेका छन्, ‘हाम्रा सुरक्षा बलहरू अतिरिक्त जवानहरूको तैनाथीका साथ आतङ्कवादलाई परास्त गर्न अभियान चलाइरहेका छन् र ठूलो मात्रामा गिरफ्तार गरिरहेका छन्।’

‘हामी हमासका आतङ्ककारीहरू र उनीहरूलाई पठाउनेहरूको पछ्याउने छौँ, चाहे उनीहरू जहाँसुकै हुन् र जुनसुकै समयमा हुन्। तिमीहरूका लागि लुक्ने कुनै ठाउँ छैन।’

इजरायली अधिकारीहरूका अनुसार कब्जा गरिएको वेस्ट बैंकमा भएको गोलीप्रहारको घटनामा पाँच जना इजरायली घाइते भएका छन् भने इजरायली सुरक्षा बलले प्यालेस्टिनी आक्रमणकारी भएको आशङ्कामा दुई जनालाई मारेको छ।

सामाजिक सञ्जालमा सेयर गरिएका अपुष्ट भिडियोहरूमा हेब्रोन सहरको प्रवेशद्वारमा रहेको एक सैन्य चेकपोस्टमा सैनिक र बन्दुकधारीहरूबीच भीषण दोहोरो गोलीहानाहान भइरहेको देखिन्छ।

यो आक्रमण वेस्ट बैंकमा बढ्दै गएको तनावका बीच भएको हो। ओलिभ (जैतुन) को वार्षिक फसल काट्ने समयमा चरमपन्थी यहुदी बस्तीका बासिन्दाहरूले प्यालेस्टिनीहरूलाई निसाना बनाइरहेका छन्। अर्कातिर, इजरायलमा चार दिनपछि आम निर्वाचन हुँदैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *