बाँकेमा एयर पेस्तोलसहित एक जना पक्राउ

डिसी नेपाल
६ कार्तिक २०८३ १९:०३

नेपालगन्ज। एयर पेस्तोलसहित बाँकेमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–८ टिटिरिया निवासी २८ वर्षीय सन्दीप चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

त्यही स्थानका २९ वर्षीय श्यामकुमार थारुको किराना पसलको आँगनमा विवादका क्रममा एयर पेस्तोल देखाएर ज्यान लिने धम्की दिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चौधरी र थारुबिच विवाद भएपछि उक्त विवाद भइरहेका बेला मादक पदार्थ सेवन गरेका चौधरीले आफूसँग रहेको एयर पेस्तोल देखाएर थारुलाई ज्यान लिने धम्की दिएको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

प्रहरी चौकी रनियारपुर दहवा र इलाका प्रहरी कार्यालय धनौली, बाँकेबाट खटिएको प्रहरी टोलीले चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले बताए। उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *