लुम्बिनी लायन्समा बङ्गलादेशी क्रिकेटर शमीम हुसेन
काठमाडौं। बङ्गलादेशका अलराउन्डर शमीम हुसेन पटवारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा लुम्बिनी लायन्सबाट खेल्ने भएका छन्। लुम्बिनी लायन्सले शनिबार शमीमलाई टोलीमा अनुबन्ध गरिएको जानकारी दिएको हो।
लुम्बिनीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत शमीम टोलीमा आबद्ध भएको घोषणा गर्दै मैदानमा प्रदर्शनबाट जवाफ दिने समय आएको जनाएको छ।
बायाँहाते ब्याटिङ र अफ स्पिन बलिङ गर्ने शमीम आक्रामक खेलशैली तथा चुस्त फिल्डिङका लागि परिचित छन्। उनले सन् २०२० मा दक्षिण अफ्रिकामा आयोजित आईसीसी यू-१९ विश्वकपको उपाधि जित्ने बङ्गलादेशी टोलीबाट खेलेका थिए। त्यसपछि उनले राष्ट्रिय टोलीमा स्थान बनाएका हुन्।
शमीमले सन् २०२१ को जुलाईमा जिम्बाब्वेविरुद्ध टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरेका थिए। सोही वर्ष उनी ट-–२० विश्वकप खेल्ने बङ्गलादेशी टोलीमा समेत समावेश भएका थिए। सन् २०२३ मा अफगानिस्तानविरुद्ध खेलेसँगै उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पनि पदार्पण गरे।
बङ्गलादेश प्रिमियर लिग (बीपीएल) मा चटगाउँ च्यालेन्जर्स, रङ्गपुर राइडर्स र चटगाउँ किङ्सबाट खेलिसकेका शमीमले सन् २०२४-२५ को संस्करणमा चटगाउँ किङ्सबाट ३५२ रन बनाएका थिए।
घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटमा अनुभव बटुलेका शमीमले एनपीएलमार्फत पहिलोपटक विदेशी फ्रेन्चाइज लिग खेल्ने अवसर पाउनेछन्। उनको आगमनले लुम्बिनी लायन्सको ब्याटिङ र बलिङ दुवै पक्षलाई बलियो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। एनपीएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि सुरु हुँदैछ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment