अस्ट्रेलियानजिकै भानुअटु द्वीपमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीबारे स्पष्ट जानकारी प्राप्त हुन बाँकी

डिसी नेपाल
७ कार्तिक २०८३ १४:२१
80
Shares

काठमाडौं । दक्षिण प्रशान्त महासागरीय द्वीपसमूह राष्ट्र भानुअटुमा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार अक्टोबर २४ को बिहान ८ बजेर १ मिनेट जाँदा रिक्टर स्केलमा ७.१ म्याग्निच्युडको भूकम्प गएको हो। दक्षिण प्रशान्त महासागरमा अवस्थित भानुअटुका धेरै द्वीपहरू यस भूकम्पबाट प्रभावित हुन सक्ने अनुमान गरिएको छ।

युनाइटेड स्टेट्स जियोलोजिकल सर्भेका अनुसार सोही क्षेत्रमा करिब २५ सेकेन्डको अन्तरमा ६.९ म्याग्निच्युडको अर्को भूकम्पसमेत मापन गरिएको छ।

पहिलो भूकम्पको केन्द्रविन्दु भानुअटुको सोलाबाट करिब २०० किलोमिटर पश्चिममा १० किलोमिटरको गहिराइमा रहेको थियो। त्यस्तै, दोस्रो भूकम्पको केन्द्रविन्दु पोर्ट-ओलरीबाट करिब १९७ किलोमिटर उत्तर-पश्चिममा १० किलोमिटरकै गहिराइमा दर्ता गरिएको छ।

यी दुवै मापनले दक्षिण प्रशान्त क्षेत्रको एकै भूभागमा सतह नजिक (उथलो) भूकम्पीय गतिविधि भएको सङ्केत गर्छन्।

भानुअटुमा गएको यस शक्तिशाली भूकम्पका कारण भएको जनधनको क्षति वा भौतिक संरचनामा पुगेको नोक्सानीबारे हालसम्म कुनै आधिकारिक विवरण प्राप्त हुन सकेको छैन।

यस्तै, भूकम्पपछि सुनामीको जोखिम वा अवस्थाबारे पनि अहिलेसम्म कुनै स्पष्ट जानकारी बाहिर आएको छैन।

भानुअटु दक्षिण प्रशान्त महासागरमा अवस्थित एक द्विपीय देश हो, जुन अस्ट्रेलियाको पूर्व र फिजीको पश्चिममा पर्छ। यो धेरै साना-ठूला टापुहरू मिलेर बनेको छ। भानुअटु अस्ट्रेलियाबाट करिब १,७५० किलोमिटर पूर्वमा रहेको छ।

पृथ्वीको माथिल्लो सतह (क्रस्ट) धेरै साना र ठूला टेक्टोनिक प्लेटहरूमा विभाजित छ। यी प्लेटहरू निरन्तर तर अत्यन्त सुस्त गतिमा चलायमान भइरहन्छन्। जब यी प्लेटहरू आपसमा ठोक्किन्छन् वा एक-अर्कासँग रगडिन्छन्, तब त्यहाँ अत्यधिक दबाब र ऊर्जा पैदा हुन्छ। उक्त ऊर्जा अचानक बाहिर निस्कँदा भूकम्प जाने गर्दछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *