दुई तिहाइको सरकारले अपेक्षा पूरा गरेन, त्यसैले जागरण अभियान : प्रचण्ड

डिसी नेपाल
७ कार्तिक २०८३ १७:३३
4
Shares

काठमाडौं।  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीद्वारा सञ्चालित ‘राष्ट्रिय जागरण अभियान’मा सक्रिय सहभागिता जनाउन आम नागरिकसमक्ष अपिल गरेका छन्।

शनिबार अभियानको उद्घाटन गर्दै संयोजक प्रचण्डले संविधान र लोकतन्त्रको रक्षा गर्नुका साथै महँगी, भ्रष्टाचार, बेथिति र दण्डहीनताविरुद्ध आवाज उठाउन तथा निरङ्कुशता र अराजकताको विरोधमा यो अभियानमा जोडिन आह्वान गरे।

अहिले देश जटिल राजनीतिक, आर्थिक तथा सामाजिक संकटबाट गुज्रिरहेको उल्लेख गर्दै उनले भने, “ठूलो आशा र अपेक्षाका साथ गठन भएको दुई तिहाइको सरकारबाट जनताले अपेक्षा गरेअनुरूप परिणाम प्राप्त गर्न नसक्दा निराशा, असन्तुष्टि र अन्योल बढिरहेको छ।

महँगीले जनजीवन कष्टकर बनेको छ, बेरोजगारी र युवा पलायन बढिरहेको छ। किसान, मजदुर, उद्यमी र व्यवसायीले अनेकौँ कठिनाइ भोगिरहेका छन्। जनजीविकाका आधारभूत प्रश्नहरू झन् जटिल बन्दै गएका छन्।”

विगतका कामको इमानदारीपूर्वक समीक्षा गरी गल्ती-कमजोरीप्रति आत्मालोचित हुँदै जनताको विश्वास पुन: बलियो बनाउनुपर्ने दायित्व रहेको उनले बताए। सरकारमा रहँदा आफूहरूले सुशासन, सामाजिक न्याय, समृद्धि र सन्तुलित परराष्ट्र सम्बन्धका पक्षमा अघि बढाएका सकारात्मक कामलाई निरन्तरता दिँदै जनताप्रति थप उत्तरदायी बन्ने प्रतिबद्धता उनले जनाए।

यस अभियानमार्फत स्थानीय, प्रदेश र संघीय तहमा जनताका समस्या पुर्‍याएर समाधानका लागि निरन्तर पहल गरिने प्रचण्डले स्पष्ट पारे। “हाम्रो उद्देश्य जनताका समस्या सुनेर फर्कनु मात्र होइन, समाधानका सम्भावना पहिचान गर्नु र त्यसका लागि जिम्मेवारीपूर्वक पहल गर्नु हो। त्यसैले जनताबाट प्राप्त गुनासाको अभिलेख राख्ने र समाधानका लागि भएका प्रयासको प्रगतिबारे पुन: जनतालाई नै जानकारी दिइनेछ,” उनले भने।

नेपाली कम्युनिष्ट पार्टीले कात्तिक ७ गतेदेखि मङ्सिर २५ गतेसम्म देशभर ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ। उद्घाटन समारोहमा पार्टीका सहसंयोजक माधवकुमार नेपाल, नेता नारायणकाजी श्रेष्ठलगायतका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *