दशैंमा मापसे र लापसे गरी सवारी चलाउने १०३७ चालक कारबाहीमा
काठमाडौं। बडादशैंको अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने एक हजार ३७ जना चालक कारबाहीमा परेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कात्तिक ७ गतेसम्मको १४ दिनमा मादकपदार्थ सेवन (मापसे) गरी सवारी चलाउने एक हजार दुई जना र लागुपदार्थ सेवन (लापसे) गरी सवारी चलाउने ३५ जना चालकलाई कारबाही गरिएको हो।
कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले मापसे गरी सवारी चलाएको अभियोगमा कारबाहीमा परेका एक हजार दुई जनामध्ये ५९ जना सार्वजनिक सवारीसाधनका चालक रहेको बताए। त्यसैगरी, लापसे गरी सवारी चलाएको अभियोगमा कारबाहीमा परेका ३५ जना नै सार्वजनिक सवारीसाधनका चालक रहेको जानकारी उनले दिए।
चाडपर्वका समयमा यात्रुको आवागमन बढ्ने र सार्वजनिक तथा निजी सवारीसाधनको चापसमेत वृद्धि हुने भएकाले मापसे तथा लापसे गरी सवारी चलाउँदा सडक दुर्घटनाको जोखिम बढ्न सक्ने ट्राफिक प्रहरीको भनाइ छ। यस्ता अवाञ्छित गतिविधि नियन्त्रण गर्न उपत्यकाका विभिन्न स्थानमा निगरानी तथा चेकिङलाई तीव्रता दिइएको कार्यालयले जनाएको छ।
प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले सवारी दुर्घटना न्यूनीकरण तथा यात्रुको सुरक्षालाई ध्यानमा राख्दै मादकपदार्थ र लागुपदार्थ सेवन गरी सवारी चलाउने चालकविरुद्धको कडा कारबाहीलाई निरन्तरता दिइएको स्पष्ट पारे।
नेपालमा मादक पदार्थ वा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउन कानुनले पूर्ण रूपमा निषेध गरेको छ। सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा प्रचलित कानुनी व्यवस्थाअनुसार मापसे र लापसे गरी सवारी चलाउने चालकलाई कारबाही गरिँदै आएको छ।
ट्राफिक प्रहरीले चाडपर्वका समयमा सवारी चलाउँदा मादक पदार्थ तथा लागुपदार्थ सेवन नगर्न, ट्राफिक नियमको पूर्ण पालना गर्न र सुरक्षित यात्रालाई प्राथमिकता दिन सबै चालकहरूसँग आग्रहसमेत गरेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment