पिजन इन्जिनियरिङले कतारमा पूरा गर्यो २२ वर्ष, ३ हजारभन्दा बढीलाई रोजगारी
दोहा, कतार। पिजन इन्जिनियरिङ प्रोजेक्ट्स, ट्रेडिङ एण्ड जनरल सर्भिसेज डब्लुएलएलले कतारमा आफ्नो स्थापनाको २२ वर्ष पूरा गरेको छ। कम्पनीले देशको विकास, कर्मचारी कल्याण र दीर्घकालीन व्यावसायिक साझेदारीप्रतिको आफ्नो प्रतिबद्धतालाई पुनः दोहोर्याएको छ।
सन् २००४ मा स्थापना भएको यस कम्पनीले आफ्नो यात्राभर निरन्तर विश्वास र सहयोगका लागि कतार सरकार, ग्राहक, व्यावसायिक साझेदार, आपूर्तिकर्ता, सरोकारवाला र कर्मचारीहरूप्रति आभार व्यक्त गरेको छ।
यस अवसरमा सन्देश दिँदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्रकुमार शर्माले कतारको विकाससँगै कम्पनी पनि अघि बढेको र हाल आठ फरक देशका ३ हजारभन्दा बढी कर्मचारीहरू कार्यरत रहेको एक विविध संस्थाको रूपमा स्थापित भएको बताए।
कम्पनीले पूर्वाधार, ऊर्जा, आतिथ्य (हस्पिटालिटी) र खेलकुदजस्ता विभिन्न क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ। कम्पनीको यो वृद्धिले कतारको विकास र समृद्धिमा योगदान पुर्याउने निरन्तरको प्रयासलाई प्रतिविम्बित गर्दछ।
कर्मचारीहरूको योगदानको चर्चा गर्दै शर्माले रोजगारीका अवसरहरूले परिवारको जीवनस्तर सुधार गर्न, बालबालिकाको शिक्षामा सहयोग पुर्याउन र कर्मचारीहरूलाई उज्ज्वल भविष्य निर्माण गर्न सहयोग पुर्याएकोमा कम्पनीले गर्व महसुस गरेको बताए।

कम्पनीले निरन्तर सिकाइ, सीप विकास र करिअर अभिवृद्धिका लागि आफ्ना प्रयासहरू जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ। यस्ता पहलहरूले कर्मचारीको क्षमता अभिवृद्धि गर्दै उनीहरूलाई आगामी दिनमा थप ठूला अवसरका लागि तयार पार्ने कम्पनीको भनाइ छ।
आफ्नो २२ औँ वार्षिकोत्सवको अवसरमा पिजन इन्जिनियरिङले आफ्नो विकास र भावी आकांक्षालाई झल्काउने गरी नयाँ ब्राण्ड पहिचान (ब्रान्ड लागो/आइडेन्टिटी) पनि सार्वजनिक गरेको छ। दृश्य पहिचानमा परिवर्तन आए पनि कम्पनीका मूल मान्यताहरू—मानव सशक्तिकरण, उत्कृष्ट सेवा प्रवाह र विश्वासिलो साझेदारका रूपमा सेवा प्रदान गर्नु—अपरिवर्तित रहने जनाइएको छ।
कतारको निरन्तर प्रगतिमा सार्थक योगदान पुर्याउँदै आफ्ना कर्मचारी, ग्राहक र व्यावसायिक साझेदारहरूसँग निकट रहेर काम गर्ने प्रतिबद्धता कम्पनीले पुनः दोहोर्याएको छ।
वार्षिकोत्सवको सन्देशमा कम्पनीले भनेको छ, “हाम्रो यात्रा विश्वासमा आधारित छ, हाम्रा मानिसहरूद्वारा सुदृढ छ र साझा सफलताबाट प्रेरित छ।”
कतारमा नयाँ अवसर, बलियो साझेदारी र निरन्तर वृद्धिको लक्ष्यसहित अघि बढिरहेको कम्पनीका लागि २२ वर्षको यो यात्रा एउटा महत्त्वपूर्ण कोशेढुङ्गा बनेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment