काठमाडौँ उपत्यकामा सफाइ अभियान
काठमाडाैं। ‘राष्ट्रका लागि दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ बडादशैँका समयमा पनि काठमाडौँ उपत्यकाका नदी र चक्रपथ सफाइ अभियान जारी छ। वाग्मती सफाइ महाअभियानको ३३५ औँ हप्तामा गुह्येश्वरीअघिको नदी किनारमा आज सफाइ गरियो।
सफाइमा १० संस्थाका २०० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता रहेको अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिइन्।
सफाइबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन भयो। सफाइमा काठमाडौँ महानगरपालिका वडा नं ११ का वडाध्यक्ष हीरालाल तण्डुकारलगायत अभियानकर्मीको पनि सहभागिता थियो।
रुद्रमती सफाइ अभियानको २८८ औँ हप्तामा रातोपुल क्षेत्रमा सफाइ गरियो । दशैँका कारण अभियानकर्मीको कमै सहभागिता रहेकाले साङ्केतिक रुपमा सफाइ गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले बताए।
विष्णुमती सफाइ अभियानको २६२ औँ हप्तामा टोखा नगरपालिका वडा नं ९ को नदी र सडक क्षेत्रमा सफाइ गरियो। दशैँको समय भए पनि सफाइमा उल्लेख्य अभियानकर्मीको सक्रियता थियो । सफाइबाट दुई टन फोहर व्यवस्थापन गरिएको संयोजक शोभाकान्त पाण्डेले राससलाई जानकारी दिए।
तिलगङ्गास्थित वाग्मती सफाइको २३५ औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी सात डोको फोहर व्यवस्थापन गरिएको संयोजक आशा पाण्डेले बताए। आलोकनगर सफाइको १३२ औँ हप्तामा वाग्मती नदी किनारको सिद्धिविनायक शोभाभगवती लोकेश्वर महादेव मन्दिरअघिको क्षेत्रमा सफाइ गरियो। जनचेतनामूलक अभियानसहित त्यस क्षेत्रमा सफाइ गरिएको संयोजक प्रमिला पौडेलले सुनाइन्।
चक्रपथ– बाफल खण्ड सफाइको ११४ औँ हप्तामा बाफलबाट स्यूचाटारसम्म सफाइ गरी एक ट्रक फोहर व्यवस्थापन गरिएको संयोजक ताराबहादुर कुँवरले जानकारी दिए। सफाइमा ७० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता थियो।
यसैगरी काठमाडौँ उपत्यकाका चक्रपथको उत्तरी खण्ड, गुह्येश्वरीमाथिको वाग्मती, सुन्दरीघाट, गोदावरीखोला, मनोहरालगायत स्थानमा पनि सफाइ भएको छ । विसं २०७० जेठ ५ गते वाग्मती सफाइ अभियान शुरु भएपछि हाल देशभरका १०५ भन्दा बढी स्थानमा सफाइ भइरहेको छ । चाडपर्वलगायत महत्वपूर्ण दिन शनिबार परे पनि प्रत्येक हप्ताको सफाइ रोकिएको छैन । अभियानले देशव्यापी जागरणको स्वरुप लिएको छ।







डिसी नेपाल








Facebook Comment