मान्छे नबनेको पुरुष

पवन गुरुङ
७ कार्तिक २०८३ १९:५९
76
Shares

पेरिस, मीठो सपनाको सुन्दर सहर! जहाँ पुगेर मानिसका प्रायः सपनाहरू पूरा हुने गर्छन्। विडम्बना, सपनाको त्यही सहरमा पुगेपछि मेरा सुन्दर सपनाहरू भने कुरूप भए। विकसित देशको एउटा उन्नत सहर, जहाँ पाइला टेक्नु मात्रै पनि जीवनको एउटा ठूलो लडाइँमा विजय हासिल गरेको ठहरिन्छ। विडम्बना, त्यही सहरले मलाई नमिठो पराजयको सिकार बनायो। लाखौँ मानिसहरूको गन्तव्यको अन्तिम लक्ष्य पेरिस, तर विडम्बना, यही सहरबाट मेरो अर्को गन्तव्यको सुरुवात भएको छ।

नौलो ठाउँ, भेउ नपाएको वातावरण अनि अपरिचित मान्छेहरूको जमातमा मलाई एक्लै छोड्यौ। न कोही आफन्त, न कोही परिचित मान्छे, न भेष र भाषा मिल्ने कोही थियो। मेरो सबथोक तिमी नै ठान्थेँ, जतिखेर तिमीभित्रको वास्तविक मान्छे हुन नसकेको मान्छेलाई चिन्न र बुझ्न सकेकी थिइनँ। नारीलाई खेलौना या मनोरञ्जनको पात्र मात्रै सम्झने दोष व्यभिचारी तिम्रो मात्रै होइन, मेरो पनि छ कि तिमी जस्तो कुरूप मन भएको कुपात्रलाई बेलैमा चिन्न सकिनँ।

धोकेबाज, घाती, स्त्रीलम्पट या व्यभिचारी-यी सबै उपमा दिँदा पनि कम हुन्छ तिमीलाई, व्यभिचारी! रूपका लागि रुपैयाँ प्रयोग गरेर मलाई अलपत्र पार्ने व्यभिचारी तिमी र तिम्रा वरिपरिका मान्छेले के पायौ ममाथि षड्यन्त्रको जाल बुनेर? व्यभिचारी तिमीले के उपलब्धि हासिल गर्‍यौ एउटी नारीको जीवनमा जालझेलको लुकामारी गरेर? हुन त राम्रो या असल मान्छे असल कुलकै हुन्छ अरे भनेको सुन्थेँ, सायद सही रहेछ।

पुरुष घरको थाम, समाजको रक्षक अनि देशलाई काँधमा बोकेर संसारसँग एक्लै लड्न सक्ने बहादुर योद्धा—हिजोदेखि यही सुन्दै आइरहेकी हुँ। जानेर या नजानेर सबैले यही भन्ने गर्छन् र बुझेर या नबुझेर मलाई पनि पुरुष भनाउँदाहरूका बारेमा उठ्ने गरेका यस्ता विचारहरू गलत लाग्दैनथे। उनीहरूका बारेमा बखान गरिएका भनाइहरूमा चुपचाप सहमति जनाउँदै आएकी थिएँ, टाउको हल्लाएर।

यो समाजले घरको थामको उपमा दिएको पुरुष भनाउँदो व्यभिचारी तिमी त्यही घर भत्काउने डोजर बन्यौ। समाजको रक्षक भनेर चिनिएको पुरुष भनाउँदो व्यभिचारी तिमी त्यही समाजको नीति र नियम तोड्ने भक्षक बन्यौ। एउटा इमानदार, बहादुर योद्धाको परिचय बनाएको पुरुष भनाउँदो व्यभिचारी तिमी एउटी नारीको जीवनलाई कुल्चेर कायर र नालायक मान्छे हुँ भन्ने देखायौ, जो मान्छे हुन बाँकी नै रहेछ।

थाहा छ मलाई, सबै पुरुष खराब हुँदैनन् र खराबभित्र सबै पर्दैनन्। तर खराबभित्रको पनि खराब, व्यभिचारी तिमी त्यस्तो पुरुष रहेछौ, जसको मैले कल्पनासम्म पनि गरेकी थिइनँ। सम्बन्धको नाममा नाटक मञ्चन गर्‍यौ अनि विवाहको नाममा जालझेल। मलाई र तिम्रो वरिपरिका मान्छेहरूको सामु व्यभिचारी तिमीले निभाएको रामरूपी चरित्र, अभिनय र गरेको जालझेलले कानुनी रूपमा गरेको अपराध र धार्मिक रूपमा गरेको पापको लागि व्यभिचारी तिमी जिन्दगीभर सजायको भागीदार रहन्छौ, कथमकदाचित मेरो निर्दोष मनले माफी दिन सकेछ भने पनि।

असल पुरुष त्यो हो, जसले नारीको इज्जत र उनको भावनाको कदर गर्छ। असल पुरुष त्यो हो, जसले नारीका हरेक इच्छा र चाहनालाई पूरा गर्ने कोसिस गर्छ। तिमी जस्तो बिना आधार, तथ्यहीन कुराहरू गरेर निर्दोष नारीको चरित्रमा दाग लगाउन दुष्प्रयास गर्नेलाई पुरुष होइन, मान्छे भन्न पनि सायद सोच्नुपर्छ। मायाको लेप लगाएर नारीको शरीरसँग खेल्न बानी परेका व्यभिचारी तिमी जस्ताको भ्रममा त्यही मान्छेहरू परेका छन्, जसले सही र गलत छुट्याउन सक्ने हैसियत राख्दैनन्।

रूप अनि जवानीको पछि लागेर आफ्नो धरातल भुल्ने तिमी जस्ता व्यभिचारी र स्त्रीलम्पटहरूकै कारण हत्या, आत्महत्या जस्ता घटनाहरू घट्छन् भने कयौँ घरबारहरू तहसनहस हुने गरेका छन्। तर म त्यो कमजोर नारीभित्र पर्दिनँ, जुन व्यभिचारी तिमीले बनाउन चाहेका थियौ। म साबित गरेर देखाइसकेकी छु कि तिमी जस्तो व्यभिचारी र स्त्रीलम्पट पुरुषको निःस्वार्थरहित साथ नभए पनि म र मेरो लागि म एक्लै काफी छु।

(लिजन) फ्रान्स आर्मीको नियमलाई बहाना बनाई मेरो जीवनमा षड्यन्त्र रचेर आज जसरी खुसीयाली मनाउँदै छौ नि, प्रार्थना गर्छु कि जीवनको कुनै पनि मोडमा मलाई गरेको घातले नपोलोस्। धान खाने मुसा तर दोष भने भ्यागुतालाई दिएर जसरी व्यभिचारी तिमी पानीमाथिको ओभानो बन्न खोज्दै छौ नि, त्यो भ्रम कुनै दिन आफैँलाई पासो नबनोस्। व्यभिचारी तिम्रो वरिपरिका मान्छेहरूको आँखामा भ्रमको कालो पट्टी बाँधेर जसरी तिम्रो कलुषित मन ढाक्न सफल भएका छौ नि, कुनै दिन यस्तो दिन नआओस् कि ममाथि गरेका षड्यन्त्रको जालो फाटिएर तिम्रा सारा कर्तुतहरूको पोल खुलोस्। अनि त्यतिखेर देख्नेछ दुनियाँले कि तिमी कालो मन भएको सेतो मान्छे हौ भनेर।

कहिलेकाहीँ तिमीसँग बिताएका पलहरू सम्झिन्छु, नमिठो लाग्छ। नचाहेर पनि कहिलेकाहीँ विगतले कोट्याउँछ, बोलाउँछ, अप्रिय लाग्छ। अन्जान सहरको अस्पतालमा मृत्युसँग लड्दै गरेको मेरो निर्दोष मनले आफन्त खोज्दै गर्दा व्यभिचारी तिमी नयाँ दुलहीको साथमा मेरो मायाको घाँटी रेट्दै रहेछौ। अप्रेसनका लागि अस्पतालले आफन्त खोजिरहँदा मैले मेरो पतिको नम्बर भनेर दिएँ, तर व्यभिचारी तिमीले ‘यो मान्छेलाई म चिन्दिनँ’ भन्ने जवाफ दिएछौ।

आज म एकदमै खुसी छु र सुखी पनि। तिमी जस्तो व्यभिचारीसँगको साथ छुट्दा केही समय पीडा नभएको होइन, तर जीवन थप तहसनहस हुनबाट बचेकोमा भने धेरै खुसी भएँ। आज पेरिस जस्तो सहरमा आफ्नै व्यवसाय सञ्चालन गरेर बसेकी छु र आठ–दस जनालाई रोजगारी पनि दिएकी छु। तिमी जस्ता व्यभिचारी पुरुषको साथ नभए पनि जीवनमा सफल भएकी छु र अझ धेरै प्रगति गर्नुछ।

व्यभिचारी तिमीले गर्दा नै मैले एउटा गतिलो पाठ सिकेकी छु—जीवन चलाउनका लागि पुरुष नै चाहिन्छ भन्ने छैन। सफल हुनका लागि पुरुषकै साथ आवश्यक पर्छ भन्ने पनि होइन। साहस र क्षमता छ भने नारी एक्लै जीवनको हरेक मोर्चामा सफल हुन सक्छिन्, जुन मैले गरेर देखाएँ।

(पेरिसमा बसोबास गर्ने परिधि थापा [नाम परिवर्तन] सँगको कुराकानीमा आधारित)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *