ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, छिट्टै शिलान्यास हुन्छ: स्वास्थ्यमन्त्री मेहता

डिसी नेपाल
८ कार्तिक २०८३ १४:२०
8
Shares

धनुषा। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि बढिसकेको बताएकी छन्।

आइतबार ट्रमा सेन्टर निर्माणका लागि प्रस्तावित जग्गाको स्थलगत निरीक्षण गर्दै मन्त्री मेहताले टेन्डरसम्बन्धी कागजात स्वास्थ्य मन्त्रालयबाट हस्ताक्षर भई पूर्वाधारसम्बन्धी निकायमा पठाइसकिएको जानकारी दिइन्। उनले प्रशासनिक प्रक्रिया पूरा हुनासाथ टेन्डर आह्वान हुने र लगत्तै निर्माणको काम अघि बढ्ने स्पष्ट पारिन्।

“ट्रमा सेन्टर बन्छ कि बन्दैन भन्ने अन्योल अब कसैले राख्नुपर्दैन। यो आयोजना सरकारको बहुवर्षीय योजनामा समावेश भइसकेको छ,” मन्त्री मेहताले भनिन्। उनले निर्माणस्थलको निरीक्षणबाट आवश्यक तयारी उपयुक्त देखिएकाले छिट्टै शिलान्यास हुने विश्वास व्यक्त गरिन्।

स्थानीयवासीले लामो समयदेखि ट्रमा सेन्टर निर्माणको आश्वासन मात्र पाउँदै आएकाले आयोजना कार्यान्वयनप्रति आशंका व्यक्त गर्दै आएका थिए।

निरीक्षणका क्रममा प्रतिनिधिसभा सदस्य राजकिशोर महतोले भवन निर्माणको काम प्रत्यक्ष सुरु भएपछि मात्रै स्थानीयवासी पूर्ण रूपमा विश्वस्त हुने बताए। उनले केवल आश्वासनभन्दा पनि निर्माण कार्यको सुरुआत महत्त्वपूर्ण रहेको उल्लेख गर्दै शिलान्यासको प्रक्रिया छिटो अघि बढाउन मन्त्रीको गम्भीर ध्यानाकर्षण गराए।

“ट्रमा सेन्टरका नाममा यहाँका नागरिक लामो समयदेखि आश्वासन पाउँदै आएका छन्। अब आश्वासनले मात्र चित्त बुझाउने अवस्था छैन। भवनको शिलान्यास र निर्माण सुरु भएपछि मात्रै नागरिकमा विश्वास जाग्छ,” उनले भने।

उक्त स्थलगत निरीक्षणमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलसहित सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *