दुर्लभ एकसिंगे गैंडा संरक्षणमा योगदान पुर्याउँदै ‘चितवन राइनोज’
चितवन। दुर्लभ एकसिंगे गैंडाका लागि विश्वभर प्रख्यात चितवनको पहिचान बोकेको क्रिकेट टोली ‘चितवन राइनोज’ले गैंडा संरक्षणमा विशेष योगदान दिने भएको छ। टोलीले आफ्ना ‘टिसर्ट’ लगायतका आधिकारिक सामग्री बिक्रीबाट प्राप्त हुने रकमको पाँच प्रतिशत गैंडा संरक्षण कोषमा लगानी गर्ने घोषणा गरेको छ।
चितवन मेडिकल कलेजको भगिनी संस्थाका रूपमा रहेको चितवन राइनोजले क्रिकेटका माध्यमबाट चितवन र यहाँको पर्यापर्यटनको मुख्य आकर्षण एकसिंगे गैंडालाई विश्वसामु चिनाउँदै आएको छ। चितवन राइनोज स्पोर्ट्स क्लबका अध्यक्ष आयुष न्यौपानेका अनुसार टोलीको नाम र पहिचान नै गैंडासँग जोडिएकाले यसको संरक्षणमा दायित्व बोध गर्दै योगदान पुर्याउन लागिएको हो।
टोलीले आफ्नो म्याच जर्सी र प्रचार सामग्रीमा एकसिंगे गैंडाको तस्बिर अंकित गरी संरक्षणको सन्देश प्रवाह गर्दै आएको छ। क्लबका निर्देशक प्रताप देवकोटाले गैंडा संरक्षणसँगै स्थानीय स्तरमा क्रिकेटको प्रवर्द्धन,स्थानीय क्लबहरूलाई सहयोग, तथा बाढी प्रभावित क्षेत्रमा राहत वितरण जस्ता सामाजिक कार्यहरूमा समेत टोली सक्रिय रहँदै आएको जानकारी दिए।
नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिएको चितवन राइनोजलाई समर्थन गर्न चितवनका प्रमुख चोक तथा वीरेन्द्र क्याम्पस परिसर लगायतका स्थानमा खेलको प्रत्यक्ष प्रसारण (लाइभ स्क्रिनिङ) को व्यवस्था मिलाइएको छ।
जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले देशका प्रमुख आठ टोलीमध्ये चितवनको नाममा स्थापित यो क्लब जिल्बासीका लागि ठूलो गौरवको विषय भएको बताएका छन्। एनपिएल सुरु भएसँगै चितवनका होटल, रेस्टुरेन्ट तथा सार्वजनिक स्थलहरूमा चितवन राइनोजको झण्डा र समर्थनको माहोल देखिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment