यात्राको थकान मेटिने म्याग्दीको भुरुङ-तातोपानी: पर्यटकीय यामसँगै बढ्यो पर्यटकको चाप

डिसी नेपाल
९ कार्तिक २०८३ ७:५४
4
Shares

म्याग्दी. म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ मा अवस्थित प्रसिद्ध भुरुङ-तातोपानी कुण्ड यतिबेला स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षक विश्रामस्थल बनेको छ।

चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक खण्डको छेउमै रहेको यो प्राकृतिक तातोपानी कुण्डमा पर्यटकीय याम सुरु भएसँगै नुहाउने र थकान मेट्नेहरूको घुइँचो लाग्न थालेको हो।

अन्नपूर्ण चक्रीय पदमार्ग, मुस्ताङ यात्रा गर्ने पर्यटक तथा अन्नपूर्ण आधार शिविर (एबिसी) जोड्ने मौरिस हर्जोग पदमार्गमा यात्रा गर्ने पदयात्रीहरूका लागि भुरुङ्ग-तातोपानी मुख्य गन्तव्य बनेको छ। काठमाडौँबाट पुगेका पर्यटक विमलेश शाक्यका अनुसार मुस्ताङको चिसो र लामो यात्रापछि तातोपानीमा स्नान गर्दा सम्पूर्ण थकान मेटिएर शरीरमा नयाँ स्फूर्ति आउने गर्छ।

कालीगण्डकी नदीको किनारमा प्राकृतिक रूपमै निस्कने ५५ डिग्री सेल्सियस तापक्रमको तातोपानीलाई व्यवस्थित रूपमा सङ्कलन गरी दुईवटा पोखरी र धाराहरूमा वितरण गरिएको छ।

कुण्डका कर्मचारी प्रितम पुर्जाका अनुसार पछिल्ला दिनहरूमा दैनिक २५० देखि ३०० जनासम्म पर्यटकले कुण्डमा स्नान गरिरहेका छन्। बिहान ६ बजेदेखि राति १० बजेसम्म खुला रहने यस कुण्डमा प्रवेशका लागि नेपालीलाई रु ५० र विदेशी पर्यटकलाई रु १५० शुल्क तोकिएको छ।

स्थानीय पालिकाका अनुसार तातोपानी कुण्डबाट हुने आम्दानी क्षेत्रको शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा खर्च गर्ने गरिएको छ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले कुण्डको आम्दानीबाट सर्वोदय माध्यमिक विद्यालय र हिमालय आधारभूत विद्यालयका निजी स्रोतका शिक्षकहरूको तलब, स्थानीय स्वास्थ्य चौकीमा ल्याब सञ्चालन तथा कालीगण्डकी नदी कटान नियन्त्रणका कार्यहरू सञ्चालन हुँदै आएको जानकारी दिनुभयो।

अन्नपूर्ण गाउँपालिका-२ का वडाध्यक्ष ओमप्रसाद फगामीका अनुसार कुण्डमा नयाँ पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले चालु आर्थिक वर्ष २०८३/८४ मा दुई महिनाका लागि न्यूनतम रु ९ लाख ५० हजार मूल्य राखेर सञ्चालन ठेक्का आह्वान गरिएको छ। अघिल्लो आर्थिक वर्ष २०८२/८३ मा यो कुण्ड करबाहेक रु ५० लाख १ हजारमा ठेक्का लागेको थियो।

भुरुङ-तातोपानी बजारमा पर्यटकको बसोबासका लागि करिब २० वटा सुविधासम्पन्न होटलहरू सञ्चालनमा छन्, जहाँ एकै रात ५०० भन्दा बढी पर्यटक बस्न सक्ने क्षमता छ।

स्थानीय होटल व्यवसायी राजु हमालका अनुसार अहिले अधिकांश होटलहरू भरिभराउ छन्, जसमा आधाभन्दा बढी अन्नपूर्ण आधार शिविर जाने र फर्किने पदयात्रीहरू रहेका छन्। कालीगण्डकी किनारको यो प्राकृतिक तातोपानी कुण्ड मुस्ताङ र अन्नपूर्ण क्षेत्र जाने पर्यटकका लागि बिराम लिने उत्तम थलोका साथै स्थानीय अर्थतन्त्रको बलियो आधार बनेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *