दशैँमा सुदूरपश्चिममा १५२ सवारी दुर्घटना : ६ जनाको मृत्यु, २४३ घाइते
धनगढी । सुदूरपश्चिम प्रदेशमा यस वर्षको दशैँ पर्वका अवधिमा सवारी दुर्घटनाको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ। अघिल्ला वर्षहरूमा दशैँदेखि छठ पर्वसम्म हुने दुर्घटनाको तुलनामा यस वर्ष दशैँकै अवधिमा बढी सवारी दुर्घटना भएका छन्। दुर्घटनाको सङ्ख्या बढे पनि मानवीय क्षति भने गत वर्षको तुलनामा घटेको छ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार घटस्थापनादेखि शुक्रबारसम्मको अवधिमा प्रदेशभर कुल १५२ वटा सवारीसाधन दुर्घटनामा परेका छन्। यी दुर्घटनाहरूमा परी ६ जनाको ज्यान गएको छ भने २४३ जना घाइते भएका छन्।
जिल्लागत विवरण अनुसार सबैभन्दा बढी सवारी दुर्घटना कैलाली र कञ्चनपुरमा भएका छन्। कैलालीमा ८८ वटा सवारीसाधन दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १४६ जना घाइते भएका छन्।
त्यसैगरी कञ्चनपुरमा ३५ वटा सवारी दुर्घटनामा परी २ जनाको मृत्यु र ५० जना घाइते भएका छन्। प्रदेशका अन्य जिल्लाहरूमा भने दुर्घटना भए पनि मानवीय क्षति (मृत्यु) भएको छैन। डडेल्धुरामा १०, डोटीमा ८, अछाममा ५, दार्चुला र बाजुरामा २/२ तथा बझाङ र बैतडीमा १/१ गरी ४७ जना घाइते भएका छन्।
यस वर्षको दशैँमा भएको दुर्घटनाको तथ्याङ्कले अघिल्लो वर्षको रेकर्ड तोडेको छ। प्रहरीका अनुसार गत वर्ष दशैँदेखि छठ पर्वसम्मको पूरै अवधिमा प्रदेशभर १२२ वटा सवारीसाधन दुर्घटना भएका थिए, जसमा २३ जनाको मृत्यु र २५३ जना घाइते भएका थिए। तर, यस वर्ष दशैँकै अवधिमा दुर्घटनाको सङ्ख्या बढेर १५२ पुगेको हो।
ट्राफिक प्रहरीको यो तथ्याङ्कले चाडपर्वका बेला हुने सवारी दुर्घटना नियन्त्रण तथा न्यूनीकरण गर्नु चुनौतीपूर्ण बन्दै गएको देखाएको छ। यद्यपि दुर्घटनाको सङ्ख्या बढे पनि मृत्यु हुनेको सङ्ख्यामा आएको कमीलाई सकारात्मक पक्षका रूपमा हेरिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment