एनपीएल : साविक विजेता लुम्बिनी लायन्सको विजयी सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले शानदार जित दर्ता गर्दै सुखद सुरुवात गरेको छ। सोमबार त्रिभुवन विश्वविद्यालय (टियु) अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको हो।
सुदूरपश्चिमले जितका लागि दिएको ८८ रनको झिनो लक्ष्य लुम्बिनीले ६१ बल (९.५ ओभर) बाँकी छँदै मात्र ३ विकेट गुमाएर सहजै पूरा गर्याे।
लुम्बिनीको जितमा ओपनर डार्सी शर्टले आक्रामक ब्याटिङ गरे। उनले मात्र १८ बलमा ४ चौका र ३ छक्काको मद्दतले विस्फोटक ४० रन जोडे। अर्का ओपनर आसिफ शेखले २५ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ३२ रनको योगदान दिए। सुदूरपश्चिमका तर्फबाट कप्तान दीपेन्द्र सिंह ऐरीले २ विकेट तथा अनिल खरेलले १ विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सको सुरुवात अत्यन्तै निराशाजनक रह्यो। लुम्बिनीका बलरहरूको उत्कृष्ट प्रदर्शनसामु सुदूरपश्चिम १७.२ ओभरमा जम्मा ८७ रनमा अलआउट हुन पुग्यो।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले २३ बलमा २७ रन, अनिल खरेलले २६ बलमा १५ रन (अविजित) र सैफ जइबले १४ बलमा १३ रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको योगफल छुन सकेनन्।
सुदूरपश्चिमलाई सस्तैमा समेट्न लुम्बिनीका तीव्र गतिका बलर किशोर महतोले घातक बलिङ गर्दै ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए। उता, स्पिनर शेर मल्लले ४ ओभरमा मात्र ११ रन दिएर ३ विकेट चटकाए। यस्तै, शेड्ली भान शाल्कविक, तिलक भण्डारी र कप्तान रोहितकुमार पौडेलले समान १-१ विकेट हात पारे।
No ads found for this position



डिसी नेपाल
Facebook Comment