भोटेकोशी बाढी: डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दशैं

डिसी नेपाल
१० कार्तिक २०८३ ६:४५
4
Shares

राँझा (बाँके)। गत भदौ १० गतेको भोटेकोशी बाढीमा परी बेपत्ता भएका नागरिकका परिवारले यस वर्षको दशैं पर्व डीएनए परीक्षणको रिपोर्ट पर्खँदै बिताएका छन्।

नेपालगञ्ज उपमहानगरपालिका-२० थपुवाका स्थानीय अनलाल रोकायका अनुसार बेपत्ता आफन्तको अहिलेसम्म कुनै आधिकारिक जानकारी नआएका कारण चाडपर्वको समयमा पनि डीएनए रिपोर्ट कुरेर बस्न बाध्य हुनुपरेको छ।

बाढीमा हराएका मानिसहरूको दुई महिना बितिसक्दा पनि अत्तोपत्तो नलाग्दा सास वा लास केही फेला नपरेकाले सामाजिक तथा धार्मिक संस्कारसमेत गर्न नसकिएको उनले दुःखेसो पोखे।

रसुवा भन्सार कार्यालय टिमुरे क्षेत्रमा कार्यरत अनलालका दाजु ५३ वर्षीय शेरसिंह रोकाय, भाउजु ५६ वर्षीया विष्णुमती रोकाय र उनीहरूलाई भेट्नका साथै गोसाइँकुण्ड दर्शन गर्न पुगेका १९ वर्षीय छोरा दीपक रोकाय बाढीसँगै हराएका थिए।

बुढेशकालको सहारा मानिएका एक्ला छोरा, जीवनका आधार बनेका दाजु र भाउजु एकैपटक बेपत्ता भएपछि अनलाल रोकायको घरमा यतिबेला सन्नाटा र आँसु मात्रै बाँकी छ। सासको आश मारिसके पनि लाससमेत फेला नपर्दा आफन्तहरू तीव्र चिन्तामा छन्। बेपत्ता मानिसहरू कतै फर्किहाल्छन् कि भन्ने आशा मर्दै गए पनि डीएनए रिपोर्ट मिल्छ कि भन्ने झिनो आशा र असैह्य पीडाबीच उनीहरू विछोडको भारी थाम्न विवस छन्।

शव पहिचानका लागि डीएनए परीक्षणको नमुना पठाइएकाले बाढीपछि बेपत्ता दाजु, भाउजु र छोराको शव पहिचान हुनेमा उनी आशावादी छन्। अनलालले नेपालगञ्जस्थित भेरी अस्पताल पुगेर डीएनए परीक्षणका लागि नमुना दिएका थिए।

डीएनएको रिपोर्ट नआउँदा बेपत्ता परिवारको सामाजिक संस्कार गर्न नसकिएकाले डीएनए रिपोर्ट र बेपत्ता व्यक्तिका बारेमा सरकारले आधिकारिक धारणा परिवारलाई दिनुपर्नेमा उनले जोड दिए। सास वा लास केहीको अत्तोपत्तो नभएकाले के आधारमा सामाजिक संस्कार गर्ने भन्ने दोधारमा परेको र सरकारले आधिकारिक रूपमा मृत वा फेला पार्न नसक्ने गरी बेपत्ता भएको घोषणा गरेपछि मात्रै सामाजिक संस्कार गर्ने सोच बनाएको उनको भनाइ छ।

यसैगरी रोजीरोटीका लागि रसुवा पुगेका आराम दमाईं र उजना दमाईं पनि सोही बाढीमा परी बेपत्ता भएपछि उनीहरूका १६ वर्षीय छोरा सुभास नेपाली, ११ वर्षीय भाइ अश्विन र नौ वर्षीया बहिनी स्मारिका दिनभर टोलाउँदै आमाबुवा फर्किने बाटो हेरिरहन्छन्। सुभासले पनि आफूहरू डीएनए रिपोर्टको प्रतीक्षा गरेर बसिरहेको जानकारी दिए।

नेपालगञ्ज–२० का कार्यवाहक वडाध्यक्ष चक्रबहादुर बुढाले डीएनए रिपोर्ट आउन बाँकी रहेकाले पीडित परिवारहरूलाई सान्त्वना दिँदै सम्झाउने काम भइरहेको बताए। उनले बेपत्ताको खोजी कार्य जारी राख्न र पीडित परिवार, विशेष गरी सहाराविहीन बनेका आराम र उजना जस्ता बालबालिकाको पालनपोषण तथा शिक्षाका लागि आवश्यक समन्वय र सहयोग भइरहेको जानकारी दिए।

भोटेकोशी बाढीपश्चात् बेपत्ता आफन्त खोज्न गएका केहीले चितवन र काठमाडौँस्थित अस्पतालमा तथा बाँकेमा रहेका १६ जनाले नेपालगञ्जस्थित भेरी अस्पतालमा डीएनए परीक्षणका लागि नमुना सङ्कलन गरी नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रतीतसिंह राठौरले बताए।

उनका अनुसार नेपालगञ्जमा सम्पर्कमा आएका १६ जना आफन्तको भेरी अस्पतालमा डीएनए नमुना सङ्कलन गरिएको हो। अन्य आफन्तको काठमाडौँ र चितवनका अस्पतालहरूमा डीएनए नमुना संकलन गरिएको छ।

डीएनए परीक्षणका लागि बेपत्ता भएका व्यक्तिका पहिलो तहका नातेदार बाबु, आमा, छोरा वा छोरीको ताजा रगतको नमुना सङ्कलन गरी नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको प्रहरीले जनाएको छ।

भोटेकोशीमा आएको भीषण बाढीपश्चात् बाँके जिल्लाका २३ जना नागरिक हालसम्म बेपत्ता रहेका छन्। तीन जनाको शव सनाखत भई मृत्यु घोषणा भइसकेको छ भने ३२ जनाको सकुशल उद्धार गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *