एनपिएलको सरगर्मीबीच सुस्त गौतमबुद्ध रंगशाला निर्माणः पुसभित्र नबन्ने निश्चित

डिसी नेपाल
१० कार्तिक २०८३ ९:५४
4
Shares

चितवन। काठमाडौंमा नेपाल प्रिमियर लिग (एनपिएल) को क्रेज र उत्साह उत्कर्षमा पुगेका बेला चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला कहिले बन्ला भन्ने चौतर्फी चासो र प्रश्न बढेको छ। आगामी पुस २७ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि हालसम्मको भौतिक प्रगति भने ६५ प्रतिशत मात्रै भएको छ।

भरतपुर महानगरपालिकाका इन्जिनियर आदर्श पोखरेलका अनुसार बागमती प्रदेश सरकारबाट ७० प्रतिशत बजेट निकासा हुन केही ढिलाइ भएपछि निर्माण कम्पनीले बीचको समयमा काम रोकेकाले सम्झौता मितिअनुसार काम पछाडि परेको हो।

महानगरपालिका र बागमती प्रदेश सरकारको साझेदारीमा अघि बढेको यो आयोजनामा निर्माण कम्पनीले समेत काममा ढिलाइ गरेकाले पुस मसान्तसम्म सम्पन्न हुने अवस्था छैन।

यता निर्माण कम्पनीका व्यवस्थापक सम्राट सिलवालका अनुसार निर्माण सामग्रीको मूल्यवृद्धि, मौसम परिवर्तन र धुर्मुस–सुन्तली फाउन्डेसनले छाडेका पुराना संरचनामा काम गर्नुपर्दा प्राविधिक निर्णयहरू एकापसमा बाँझिएकाले निर्माणमा ढिलाइ भएको हो।

निर्माण अवधि सकिनै लाग्दा असोज २८ गते पहिलो भेरिएसन अर्डर (भिओ) स्वीकृत भएपछि सुरुवाती ७८ करोड ५० लाख ९१ हजार रुपैयाँको ठेक्का सम्झौता बढेर ८६ करोड २४ लाख ८४ हजार रुपैयाँ पुगेको छ।

लागत र काम दुवै थपिएकाले निर्माण कम्पनीले नियमानुसार सम्झौता सकिनु ३५ दिन अगावै भरतपुर महानगरपालिकासँग म्याद थपको माग गर्ने तयारी गरेको छ।

रंगशालाको प्राविधिक स्थिति हेर्दा मुख्य रूपमा मैदानकै काम अड्किएको छ। भरतपुर महानगरका डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार मैदानमा चार तह माटो राखेर पाइप हाल्न र त्यसमाथि नरम माटो बिछ्याएर बरुणा नामको घाँस रोप्न अझै बाँकी छ।

यसबाहेक दुई वटा टावरको काम अन्तिम चरणमा पुगेको छ भने चार वटा प्यारापिटमध्ये दुई वटा निर्माण भइसकेका छन्। बाँकी दुई प्यारापिटमा क्रमशः ९० प्रतिशत र ७० प्रतिशत प्रगति भएको छ भने विद्युत् जडानको काम पनि बाँकी नै छ।

हाल दशैंको समयमा समेत नियमित रूपमा दैनिक ८० जना हाराहारीमा श्रमिकले काम गरिरहेकाले निर्माण कम्पनीले तीव्रता दिएमा धेरै समय नलाग्ने प्राविधिकहरूको भनाइ छ।

वि.सं. २०८१ असार २४ गते हिमालयन-कालिञ्चोक बिबीआर जेभीसँग महानगरले सम्झौता गरी अलपत्र परेको निर्माण अघि बढाएको थियो। चितवनमा राष्ट्रियस्तरको क्रिकेट टोली ‘चितवन राईनोज’ रहेको र हाल एनपिएलको माहौलले देशभर क्रिकेटको क्रेज ह्वात्तै बढाएकाले अन्तर्राष्ट्रियस्तरका खेलहरू चितवनमै आयोजना गर्न यो रंगशाला चाँडो निर्माण सक्न ठूलो दबाब परेको छ।

भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले महानगरको तर्फबाट आवश्यक सबै सहजीकरण गरिएको र बजेट भुक्तानीको समस्या समाधान भइसकेकाले छिटोभन्दा छिटो काम सक्न निर्माण कम्पनीलाई लगातार आग्रह भइरहेको बताएका छन्।  रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *