सबैलाई समेटेर अघि बढ्ने गगनको घोषणा : वडादेखि केन्द्रसम्मको संस्थागत गुटबन्दी अन्त्य गर्ने दाबी
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गरी पार्टीका प्रदेश तथा जिल्ला अधिवेशनको तिथिमिति तय गरिने बताएका छन्।
पोखरामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले केन्द्रीय समितिको बैठकमा छलफल गरी कार्यसमितिको परामर्शमा मिति घोषणा गरिने जानकारी दिए।
कार्यक्रममा बोल्दै सभापति थापाले भने, “हामीले केही समयपछि प्रदेश र जिल्ला तहको अधिवेशन सम्पन्न गर्नुपर्नेछ। अब छिट्टै केन्द्रीय समितिको बैठक बसेर साथीहरूसँग घनिभूत सल्लाह गर्छौं। आगामी स्थानीय तहको निर्वाचनलाई समेत ध्यानमा राखेर उपयुक्त तिथिमिति तय गरिनेछ।”
हालै सम्पन्न महाधिवेशन नेपालको राजनीतिक इतिहासमा सबैभन्दा धेरै प्रतिनिधिहरू एकै ठाउँमा भेला भएर सम्पन्न भएको पहिलो ऐतिहासिक अधिवेशन भएको दाबीसमेत उनले गरे।
विशाल उपस्थितिका कारण अधिवेशनको व्यवस्थापन चुनौतीपूर्ण रहे पनि सबैको निरन्तर साथ र सहयोगले सफलतापूर्वक सम्पन्न भएको उनको भनाइ थियो।
पार्टीको आन्तरिक लोकतन्त्र र प्रतिस्पर्धाबारे बोल्दै सभापति थापाले आन्तरिक निर्वाचनलाई आम निर्वाचनजस्तो ‘जित्नेले सबै पाउने र हार्नेले सबै गुमाउने’ प्रणालीका रूपमा लिन नहुने स्पष्ट पारे।
“पार्टीभित्र सबैले आ-आफ्नो भूमिका र सम्मानजनक स्थान पाउनुपर्छ। केन्द्रीय समितिमा प्रतिस्पर्धाका कारण जिम्मेवारीबाट बाहिरिएका योग्य साथीहरूलाई समेत समेटेर अघि बढ्नुपर्छ। जित्नेले हस्तिनापुर पाएको र हार्ने सिद्धियो भन्ने संस्कृति पार्टीभित्र चल्दैन,” उनले थपे।
प्रतिस्पर्धामा सहभागी नेताहरूले यसलाई सिकाइ र अनुभवका रूपमा लिनुपर्ने उल्लेख गर्दै फरक-फरक क्षमता, योग्यता र अनुभव भएका नेता-कार्यकर्ताहरूलाई पार्टी हितमा उपयोग गरिने उनले बताए।
वडादेखि केन्द्रसम्मै संस्थागत रूपमा गुट निर्माण हुने परिपाटीको अन्त्य गर्दै पार्टीभित्रको तिक्तता, कटुता र असहिष्णुता समाप्त पारेर लैजानुपर्नेमा सभापति थापाले विशेष जोड दिएका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment