विमानस्थलमा माला र खादाको तामझाम रोक्नुपर्छ : सभापति गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेताहरू आउँदा विमानस्थलमा लाइन लागेर स्वागत गर्ने, खादा र माला पहिराउने कार्यशैली तथा प्रवृत्ति बदल्नुपर्ने बताएका छन्।
पार्टीभित्रको कार्यशैली र नेताहरूको जनतासँगको सम्बन्धमा व्यापक परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै उनले सर्वसाधारणले नेताहरूलाई सहजै भेट्न, आफ्ना कुरा सुनाउन र खुला संवाद गर्न सक्ने वातावरण हुनुपर्नेमा जोड दिएका छन्।
थापाले यससम्बन्धी आवश्यक निर्देशिका बनाएर पठाइसकेको जानकारी गराउँदै प्रदेशका मुख्यमन्त्रीहरूलाई पनि विमानस्थलमा नेताको स्वागतका नाममा हुने तामझाम र भिडभाडको अभ्यास तत्काल छाड्न आग्रह गरे।
नेता आउँदा स्वागतका लागि मानिसहरू लाइन लाग्ने, माला र खादा बोकेर जाने तथा गाडीमा चढेर हिँड्ने प्रवृत्तिले सर्वसाधारणमा गलत सन्देश गइरहेको उनको भनाइ छ।
नेताहरूलाई सर्वसाधारणबाट अलग राख्ने र भेट्न आउने मानिसलाई समेत टाढा पुर्याउने परिपाटीको आलोचना गर्दै थापाले पार्टीका नेता जनताकै बीचमा सहजै भेटिने वातावरण बनाउनुपर्ने बताए। जनताले नेताको व्यवहार र कार्यशैलीबाटै परिवर्तनको प्रत्यक्ष अनुभूति गर्नुपर्ने भन्दै उनले पार्टीभित्र काम गर्ने, सोच्ने र हिँड्ने शैलीमै रूपान्तरण आवश्यक रहेको उल्लेख गरे।
सभापतिका रूपमा आफ्नो चारवर्षे कार्यकाललाई नयाँ अध्यायको सुरुआतका रूपमा लिएको स्पष्ट पार्दै थापाले पार्टीलाई इमानदारीपूर्वक अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। नेपाली कांग्रेसको नेतृत्व सम्हाल्नु भनेको केवल पार्टी सञ्चालन गर्नु मात्र नभई नेपालको प्रजातान्त्रिक आन्दोलनलाई समेत सही दिशामा अघि बढाउनु रहेको उनको ठहर छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment