एनपीएल हेर्न कीर्तिपुर पुगेका शोएब अख्तर भन्छन्: पाकिस्तानी बोर्डसँग कुरा राख्छु
काठमाडाैं। नेपालीको क्रिकेटप्रतिको अगाध प्रेमलाई नजिकबाट नियालेका पूर्वपाकिस्तानी क्रिकेट स्टार शोएब अख्तरले जारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पाकिस्तानी खेलाडीहरूको सहभागिता रोकिएको विषयमा पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) सँग कुराकानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
पाकिस्तान क्रिकेट बोर्डले विदेशी क्रिकेट लिग खेल्न स्वीकृति माग्ने आफ्ना खेलाडीले २५ हजार अमेरिकी डलर बुझाउनुपर्ने सर्त अघि सारेपछि एनपीएलमा पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा परेको थियो।
यही बाध्यकारी नियमका कारण कर्णाली याक्सबाट एनपीएल खेल्न नेपाल आइसकेका पाकिस्तानी टी-२० कप्तान शाहिबजादा फरान फर्किन बाध्य भएका थिए भने अन्य टोलीहरूले भित्र्याउन खोजेका खेलाडीहरू समेत आउन पाएका थिएनन्।
पहिलोपटक नेपाल भ्रमणमा आएका ‘रावल्पिण्डी एक्सप्रेस’का नामले विश्वचर्चित अख्तरले मङ्गलबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशाला अवलोकन गरेपछि नेपाल क्रिकेट सघ (क्यान) का पदाधिकारीहरूसँगको कुराकानीमा उक्त कुरा बताएका हुन्।
‘यस्तो विषयले मलाई दुःखी बनाएको छ। मैले यसबारे विस्तृत जानकारी पाएको छैन, तर यहाँबाट फर्किएपछि पीसीबीसँग अवश्य कुरा राख्नेछु,’ अख्तरलाई उद्धृत गर्दै क्यानका उपाध्यक्ष रोशन सिंहले नेपाल न्युज बैंकसँग भने।
यसका साथै आफूले नेपाल भ्रमणका क्रममा देखेको क्रिकेटप्रतिको अभूतपूर्व क्रेज र तीव्र गतिमा भइरहेको पूर्वाधार विकासबारे पनि पीसीबीलाई जानकारी गराउने अख्तरले बताएका छन्।
यसअघि टेलिभिजनको पर्दामा मात्र उनको आक्रामक बलिङ हेरेका नेपाली समर्थकहरू अख्तरलाई प्रत्यक्ष आफ्नै अगाडि देख्न पाउँदा निकै उत्साहित बनेका थिए। जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा भइरहेका बेला कीर्तिपुर पुगेका अख्तरले रङ्गशाला परिसर घुम्दै उपस्थित दर्शकलाई अभिवादन गरेका थिए।
फ्लडलाइटको उज्यालोमा समर्थकहरूको उत्साहजनक उपस्थिति हेरेपछि उनले ‘नेपालले सानो ठाउँमा पनि उत्कृष्ट क्रिकेट पस्किरहेको छ’ भन्ने प्रतिक्रिया दिएका थिए। अवलोकनका क्रममा उनले नेपाली क्रिकेटको भविष्य अत्यन्तै उज्ज्वल रहेको निष्कर्ष सहजै निकाल्न सकिने बताएका थिए।
खेल मैदानमा आक्रामक रूपमा प्रस्तुत हुने अख्तर कीर्तिपुरमा भने निकै सालिन र सहज देखिएको उपाध्यक्ष सिंहले जानकारी दिए। क्यानका अध्यक्ष लगायत अन्य पदाधिकारीहरूसँगको संवादमा अख्तरले नेपाली क्रिकेटको समग्र विकास र प्रवर्धनका लागि सहयोग गर्न आफू सधैँ तयार रहेको प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
No ads found for this position




Facebook Comment