अफगानिस्तानमा तालिबानद्वारा ‘कर्निया प्रत्यारोपण’ मा प्रतिबन्ध, निःशुल्क आँखा उपचार कार्यक्रम रोकियो
काठमाडौं । अफगानिस्तानमा तालिबानले कर्निया प्रत्यारोपणलाई इस्लामको शिक्षाविपरीत भन्दै यसमाथि रोक लगाएको छ। यस प्रतिबन्धसँगै काबुल र जलालाबादमा सञ्चालन भइरहेको निःशुल्क आँखा उपचार कार्यक्रम प्रभावित बनेको छ।
उक्त कार्यक्रम अन्तर्गत दान गरिएका कर्नियामार्फत शल्यक्रिया (अपरेसन) गर्नुका साथै स्थानीय डाक्टरहरूलाई तालिमसमेत दिइँदै आएको थियो। तालिबानको यस निर्णयका कारण सयौँ बिरामीहरू उपचारबाट वञ्चित हुन सक्ने चिकित्सकहरूले चेतावनी दिएका छन्। प्रभावित हुनेहरूमा बम विस्फोट, विभिन्न दुर्घटना वा वेल्डिङका क्रममा आँखामा गम्भीर चोट लागेका धेरै युवाहरू पनि रहेका छन्।
कर्निया आँखाको अगाडिको पारदर्शी तह हो। यो बिग्रिएको वा क्षति पुगेको अवस्थामा दान गरिएको स्वस्थ कर्निया फेरेर दृष्टि सुधार्ने वा फर्काउने प्रयास गरिन्छ। लामो समयको द्वन्द्वका कारण पहिले नै कमजोर भइसकेको अफगानिस्तानको स्वास्थ्य क्षेत्रमा आँखाका विशेषज्ञ चिकित्सकहरू र दान गरिएका कर्नियाको पहिलेदेखि नै चरम अभाव रहँदै आएको छ।
काबुलस्थित ‘नूर आई हस्पिटल’ का डा. नूर जमान हाशिमले यो कार्यक्रम रोकिनुअघि उनको टोलीले पछिल्ला महिनाहरूमा मात्रै ९० वटा प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरिसकेको जानकारी दिए।
हाल अस्पतालमा उपचारको प्रतीक्षा गर्ने बिरामीहरूको सूची लामो हुँदै गएको छ। उनले तालिबानले मौखिक रूपमा शल्यक्रिया रोक्न कडा निर्देशन दिएको र कडा सजायको डरले कसैले पनि उक्त आदेशको विरोध गर्ने आँट नगरेको बताएका छन्।
उक्त कार्यक्रम अमेरिकामा कार्यरत संस्था ‘एसोसिएसन अफ फिजिसियन अफ पाकिस्तानी डिसेन्ट अफ नर्थ अमेरिका’ को सहयोगमा सञ्चालन भइरहेको थियो। सो संस्थाले सन् २०१७ देखि पाकिस्तानमा निःशुल्क कर्निया उपलब्ध गराउँदै आएको छ भने यसै वर्ष आफ्नो कार्यक्षेत्र अफगानिस्तानसम्म विस्तार गरेको थियो, जहाँ १५० भन्दा बढी शल्यक्रिया गरिसकिएका छन्।
अफगानिस्तानका तीन जना आँखाका चिकित्सकहरूले पाकिस्तानको पेसावरमा गएर यस्ता शल्यक्रियासम्बन्धी विशेष तालिमसमेत प्राप्त गरेका थिए। दान गरिएको कर्निया प्रयोग हुने भएकाले बिरामीहरूले टिस्यु (तन्तु) का लागि कुनै शुल्क तिर्नुपर्दैनथ्यो।
यस प्रतिबन्धले शल्यक्रियाका लागि आफ्नो नाम दर्ता गराइसकेका बिरामीहरूलाई पनि गहिरो अनिश्चिततामा धकेलेको छ। काबुलमा उखुको रस बेच्ने एक व्यक्तिले सन् २०२३ मा भएको ग्यास सिलिन्डर विस्फोटमा परी आफ्नो दृष्टि गुमाएका थिए। निःशुल्क उपचार गराएका एक व्यक्तिको सल्लाह पाएपछि उनी अस्पताल पुगेका थिए र चिकित्सकहरूले उनलाई गत सेप्टेम्बरमा अपरेसन गर्ने आश्वासन दिएका थिए, तर अगस्टमै कार्यक्रम बन्द भएको खबरले उनको उपचार अनिश्चित बनेको छ।
सन् २०२१ को अगस्टमा तालिबान सत्तामा फर्किएयता अफगान समाजमाथि थुप्रै कठोर प्रतिबन्धहरू थोपरिएका छन्, जसमा महिला तथा बालिकाहरूको अधिकार र शिक्षामाथिको रोक पनि समावेश छ। ताजा प्रतिबन्धले पहिले नै तहसनहस भइसकेको देशको स्वास्थ्य प्रणालीमा उपचारका सीमित विकल्पहरूलाई थप सङ्कुचित पारेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment