पुस्तकालय अनुदान रकम हिनामिना गरेको आरोपमा चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

डिसी नेपाल
१२ कार्तिक २०८३ १७:१३
12
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको कुशे गाउँपालिका–२ स्थित श्री मान्नेढुङ्गा माध्यमिक विद्यालयको पुस्तकालय अनुदान रकम हिनामिना गरेको अभियोगमा तत्कालीन पदाधिकारी तथा कर्मचारीसहित चार जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

जिल्ला शिक्षा कार्यालयबाट आर्थिक वर्ष २०७१/०७२ देखि २०७३/०७४ सम्म पुस्तकालय स्थापना तथा सञ्चालनका लागि प्राप्त भएको अनुदान रकम विद्यालयका जिम्मेवार पदाधिकारी तथा कर्मचारीले आपसी मिलेमतोमा दुरुपयोग गरेको अनुसन्धानबाट खुलेको छ। उनीहरूले उक्त रकमलाई गैरकानुनी रूपमा सापटी लिएको भन्दै फिर्ता नगरी सरकारी तथा सार्वजनिक संस्थालाई हानि नोक्सानी पुर्‍याउने बदनियतले बाँडीचुँडी खाएको अख्तियारले जनाएको छ। यसरी कुल १७ लाख ४१ हजार ४४६ रुपैयाँ हिनामिना भएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

भ्रष्टाचार कसुरमा मुछिनेमा विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष हरिचन्द्र जैसी, तत्कालीन प्रधानाध्यापक धनबहादुर सिंह र तत्कालीन लेखा सहायक धिरेन्द्रबहादुर सिंह रहेका छन्। उनीहरू तीनै जनालाई जनही १७ लाख ४१ हजार ४४६ रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ। यसैगरी, सोही कसुरमा संलग्न रहेका विद्यालय व्यवस्थापन समितिका तत्कालीन सदस्य जनकबहादुर नेपालीविरुद्ध पनि १ लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ।

अख्तियारले प्रतिवादीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार कैद सजायको माग गरेको छ। साथै, उनीहरूबाट बिगो बमोजिम जरिवाना असुलउपर गर्नुका साथै हिनामिना भएको सम्पूर्ण रकम समेत सरकारी कोषमा फिर्ता गराउन मागदाबी लिइएको छ।

पुस्तकालय जस्तो शैक्षिक प्रयोजन र विद्यार्थीको भविष्यसँग जोडिएको संवेदनशील क्षेत्रको अनुदान रकम व्यक्तिगत प्रयोजनमा लगाई सरकारी सम्पत्तिमा हानि पुर्‍याउनेलाई कानुनबमोजिम कडा कारबाहीको दायरामा ल्याउन यो मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *