भूगोल र औचित्यका आधारमा मात्र विश्वविद्यालय स्थापना हुनुपर्छ: मन्त्री पोखरेल
हेटौंडा। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूको म्यापिङ तथा विद्यालयहरूको भौतिक पूर्वाधार मूल्याङ्कनको काम तीव्र रूपमा अघि बढाइएको बताएका छन्।
बागमती विश्वविद्यालयद्वारा हेटौँडामा आयोजित ‘नेपालको उच्च शिक्षा प्रणाली सुदृढीकरणः प्रादेशिक विश्वविद्यालय व्यवस्थापन र समन्वय’ विषयक दुईदिने गोष्ठीको उद्घाटन गर्दै उनले आवश्यकतामा आधारित लगानीमार्फत विश्वविद्यालयमा हुने दोहोरो लगानी रोक्ने सरकारको योजना रहेको स्पष्ट पारे।
शिक्षा क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री पोखरेलले विश्वविद्यालय स्थापना गर्दा भौगोलिक आवश्यकता, औचित्य र स्थानीय यथार्थलाई आधार बनाउनुपर्नेमा जोड दिए। विश्वविद्यालयका उद्देश्य, कार्यक्षेत्र र शैक्षिक कार्यक्रम स्पष्ट हुनुपर्ने बताउँदै उनले दोहोरिएका कार्यक्रमभन्दा समयसापेक्ष र नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गरेर विद्यार्थी आकर्षित गर्नुपर्ने धारणा राखे।
संघीय र प्रदेश सरकारअन्तर्गतका विश्वविद्यालयहरूबीच समन्वय र सहकार्य बढाउन आवश्यक संयन्त्र निर्माण गरिएको जानकारी उनले दिए। दुवै तहका विश्वविद्यालयको महत्त्व समान रहेको भन्दै उनले सरकारले सबैलाई समान दृष्टिकोणले हेर्ने प्रतिबद्धता जनाए।
शिक्षा क्षेत्रमा नीतिगत तथा संरचनागत सुधारका काम अघि बढिरहेको भन्दै मन्त्री पोखरेलले विद्यालय शिक्षा ऐन निर्माण र शिक्षा नियमावली संशोधनको प्रक्रिया जारी रहेको बताए। विद्यालयहरूको भौतिक पूर्वाधार मूल्याङ्कन र विश्वविद्यालयहरूको म्यापिङ सम्पन्न भएपछि आवश्यकताका आधारमा लगानी बढाउन सहज हुने उनको भनाइ थियो।
जनताको करबाट प्राप्त रकम प्रभावकारी रूपमा खर्च हुनुपर्नेमा सरकार सचेत रहेको भन्दै उनले शिक्षा क्षेत्रमा लगानी गर्न सरकार पछि नहट्ने स्पष्ट पारे। गोष्ठीबाट प्राप्त सुझावहरूलाई आगामी ऐन तथा नीतिमा समावेश गरिने जानकारी दिँदै उनले उच्च शिक्षाको गुणस्तर सुधार र अन्तरप्रदेशीय सहकार्यलाई प्राथमिकता दिइने बताए।
दुई दिनसम्म चल्ने सो गोष्ठीमा विभिन्न प्रदेशका शिक्षा तथा सामाजिक विकासमन्त्री, विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार, प्रदेशका सचिव, राष्ट्रिय योजना आयोगका सदस्य, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष तथा शिक्षाविद्हरूको सहभागिता रहेको छ। कार्यक्रममा प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन, उच्च शिक्षामा सुधार र संघ तथा प्रदेशबीचको समन्वयका विषयमा छलफल भइरहेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment