भैरहवाको रूपान्तरण: ग्रामीण बस्तीबाट नेपालको अर्थतन्त्रको बलियो खम्बासम्म
Date: 1964-5 Location: Siddharthanagar, Rupandehi Description: Main street scene of the town called Bhairahawa in 1964
रुपन्देही । भैरहवाको पुरानो बजारमा नजर घुमाउँदा इतिहासका अनेकौं कथा फेला पर्छन्। कुनै समय ढुंगैढुंगाको बाटो, फुसका घर, झाडी र छरिएका बस्तीमा सीमित रहेको भैरहवा आज देशको एक प्रमुख औद्योगिक, व्यापारिक, स्वास्थ्य, शिक्षा र पर्यटनको केन्द्रका रूपमा उभिएको छ।
गाउँ, झाडी र प्रशासनिक विस्तारको कथा
वि.सं. २००५ सालमा भैरहवामै जन्मिएका पुराना व्यवसायी नारायणप्रसाद अग्रवाल बाल्यकालको भैरहवा सम्झँदै त्यतिबेला यो ठाउँ सामान्य गाउँभन्दा अलि फरक नरहेको बताउँछन्। उनका अनुसार त्यतिबेला बाटोमा ग्राभेलसमेत थिएन, केवल ढुंगैढुंगा हुन्थे र हालको भीम अस्पतालभन्दा अगाडि जानसमेत डर लाग्थ्यो।
इतिहासकार विजय सागरका अनुसार पाल्पाका राजा मणिमुकुन्द सेनसँग जोडिएको भैरवको गुठीबाट ‘भैरव हवा’ हुँदै यस ठाउँको नाम ‘भैरहवा’ रहन गएको हो। वि.सं. १९९० आसपाससम्म यहाँ सीमित बस्ती मात्र थियो। पछि सरकारी कार्यालयहरू स्थापना हुन थालेपछि र प्रशासनिक गतिविधि बढ्दै गएपछि मानिसहरूको बसाइँसराइ र बजारको विस्तार तीव्र भयो। वि.सं. २०२४ सालमा नगर पञ्चायत र वि.सं. २०३३ सालमा सिद्धार्थनगर नामाकरण गरिएको यो सहरमा हाल ७४ हजारभन्दा बढी जनसंख्या र ८६.१ प्रतिशत साक्षरता पुगेको छ।
सडक सञ्जाल र व्यापारको फड्को
भैरहवाको आर्थिक इतिहासमा सडक विकासले निर्णायक मोड ल्याएको हो। कुनै समय साइकल, घोडा र बयलगाडाबाट मालसामान ढुवानी गरिने यस क्षेत्रमा सुनौली–बुटवल सडक र सिद्धार्थ राजमार्गको निर्माणसँगै व्यापारले नयाँ गति लियो।
सुरुमा कृषि उपज, तोरीको तेल र धान–चामलको कारोबारमा सीमित यहाँको व्यापार भारतीय बजार नौतनवा तथा अन्य अन्तर्राष्ट्रिय बजारसँग जोडिएको थियो। वि.सं. २०११ सालमा गौरी आयल मिल स्थापना भएपछि तेल उत्पादनले फड्को मार्यो भने यहाँबाट उत्पादित चामल तथा खाद्यान्न ट्रक र रेलमार्फत विभिन्न स्थानमा निर्यात हुन्थ्यो। पछि नीतिगत परिवर्तन र आयातमुखी बजार प्रवृत्तिका कारण केही कृषि उत्पादन प्रभावित भए पनि अहिले सिमेन्ट, स्टिल र जस्तापाताजस्ता निर्माण सामग्री उत्पादन गर्ने ठूला उद्योगहरू पनि यहाँ विस्तार भएका छन्।
शिक्षा, स्वास्थ्य र सेवा क्षेत्रको विकास
व्यापार र उद्योगमा मात्र सीमित नरहेर भैरहवा शिक्षा र स्वास्थ्य सेवाको पनि प्रमुख हब बनेको छ। स्थानीय विद्यार्थीहरूलाई भारत पठाउनुपर्ने बाध्यता हटाउन वि.सं. २००९ सालमा स्थापना भएको भैरहवा हाइस्कुलदेखि लिएर युनिभर्सल मेडिकल कलेज, रण अम्बिका आँखा अस्पताल र सिद्धार्थनगर सिटी अस्पतालले यस क्षेत्रलाई स्वास्थ्य र शिक्षाको गन्तव्य बनाएका छन्। यसले होटल, यातायात र पर्यटन व्यवसायलाई समेत ठूलो टेवा पुर्याएको छ।
अन्तर्राष्ट्रिय विमानस्थल र भविष्यका चुनौती
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बेलहिया-बुटवल छ लेनको व्यापारिक मार्ग र विशेष आर्थिक क्षेत्र (सेज) ले भैरहवाको आर्थिक सम्भावनालाई अझ फराकिलो बनाएका छन्। यद्यपि, ठूलो लगानीका यी पूर्वाधारबाट जनताले पाउनुपर्ने अपेक्षित लाभ अझै लिन बाँकी रहेको व्यवसायी अग्रवालको बुझाइ छ। स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना र व्यवस्थित सहरीकरण (ढल, पार्किङ र फोहोर व्यवस्थापन) आजका प्रमुख आवश्यकता हुन्।
लुम्बिनीको प्रवेशद्वार तथा नेपाल-भारत व्यापारको मुख्य नाका रहेको भैरहवालाई उत्पादनमुखी, समावेशी र व्यवस्थित बनाउन सकिएमा यसले समग्र देशको अर्थतन्त्रलाई नै बलियो बनाउन महत्त्वपूर्ण योगदान पुर्याउनेछ।
No ads found for this position



Facebook Comment