इजरायलमा स्पष्ट बहुमत नआएपछि तेल अविवमा प्रदर्शन: यहुदी-अरब गठबन्धन सरकार बनाउन माग

डिसी नेपाल
१५ कार्तिक २०८३ १३:२४
116
Shares

काठमाडौं । इजरायलमा हालै सम्पन्न निर्वाचनमा कुनै पनि दललाई स्पष्ट बहुमत प्राप्त नभएपछि तेल अविवमा इजरायली अधिकारकर्मीहरूले एक र्‍याली निकालेका छन्।

उनीहरूले देशमा यहुदी-अरब संयुक्त गठबन्धन सरकार गठन गर्न माग गरेका छन्। यसका साथै, प्रदर्शनकारीहरूले विपक्षी नेता गादी आइजेनकोटलाई अरब दलहरूका प्रतिनिधिहरूसँग मिलेर सहकार्य गर्न र सरकार बनाउन अपिलसमेत गरेका छन्।

प्रदर्शनमा उत्रिएका मानिसहरूको मुख्य माग आइजेनकोटले सरकार निर्माणका लागि अरब सांसदहरूसँग हातेमालो गरून् भन्ने रहेको छ। प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका सबैभन्दा ठूला राजनीतिक प्रतिद्वन्द्वी मानिएका गादी आइजेनकोटका सामु अहिले सरकार गठनको ठूलो चुनौती खडा भएको छ।

इजरायलको चुनावी परिणामका अनुमानहरू अनुसार प्रधानमन्त्री बेन्जामिन नेतनयाहुको गठबन्धनले करिब ५३ सिट जित्ने देखिएको छ भने गादी आइजेनकोटको नेतृत्वमा रहेको विपक्षी गठबन्धनले ४८ सिट पाउने अनुमान गरिएको छ।

इजरायलमा सरकार बनाउनका लागि १२० सिटको नेसेट (संसद) मा ६१ सिटको स्पष्ट बहुमत आवश्यक पर्छ। यस्तो अवस्थामा १९ सिट पाउने अनुमान गरिएका अरब दलहरू ‘किङमेकर’ को भूमिकामा देखिएका छन्।

प्रदर्शनकारीहरूले आइजेनकोटलाई अरब प्रतिनिधिहरूसँग सहकार्य गर्न आग्रह गरिरहँदा, अर्कातर्फ बिहीबार प्रधानमन्त्री नेतन्याहुले कुनै प्रमाणविना नै यसै साता सम्पन्न निर्वाचनमा अरब दलहरूले प्राप्त गरेको ऐतिहासिक/रेकर्ड सिट पछाडि चुनावी धाँधली रहेको आरोप लगाएका छन्।

यद्यपि, अरब नेताहरूले नेतन्याहुको यो आरोपलाई पूर्ण रूपमा खारेज गर्दै उनीमाथि जनता भड्काउन खोजेको आरोप लगाएका छन्।अरब दलहरूको समर्थनविना आइजेनकोटका लागि सरकार गठन गर्न निकै कठिन मानिएको छ। अहिले पनि मत गणना जारी रहेको छ र इजरायलको चुनावमा अहिलेसम्म कुनै पनि पक्षलाई स्पष्ट बहुमत हासिल हुन सकेको छैन।

नेतनयाहु-विरोधी दलहरूको आइजेनकोट नेतृत्वको गुटमा सेन्टर-लेफ्ट (मध्य-वामपन्थी) देखि कट्टर दक्षिणपन्थी दलहरूसम्म समावेश रहेका छन्। चुनावअघि गरिएका सर्वेक्षणहरूले दुवै पक्षबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरेका थिए, तर आइजेनकोटको गठबन्धनले अपेक्षा गरेअनुसार प्रदर्शन गर्न सकेन। अब आइजेनकोटका सामु कसरी बहुमत जुटाएर सरकार बनाउने भन्ने मुख्य चुनौती रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *