राप्रपाबाट हरिप्रसाद गौतमको राजीनामा, साधारण सदस्यसमेत नरहने घोषणा
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य हरिप्रसाद गौतमले पार्टीका सबै जिम्मेवारी तथा साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्।
गौतमले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको केन्द्रीय सदस्यलगायत सम्पूर्ण जिम्मेवारी परित्याग गरेको र आजकै मितिदेखि लागू हुने गरी पार्टीबाट पूर्णरूपमा अलग भएको घोषणा गरेका हुन्।
पार्टीमा सुसंस्कृत र इमानदार राजनीति स्थापित गर्ने, ‘नवीन राप्रपा’को अवधारणामार्फत कल्याणकारी लोकतन्त्र र विधिको शासनको लक्ष्य हासिल गर्ने उद्देश्यले आफू राप्रपामा जोडिएको भए पनि नेतृत्वको निरन्तर उपेक्षाका कारण अपेक्षित परिवर्तन सम्भव नदेखिएको उनले बताएका छन्।
पार्टीभित्र सत्ता र पदको लोभ, सिद्धान्त र एजेन्डाविपरीतका गतिविधि, शीर्ष नेतृत्वबीचको निरन्तर टकराव तथा प्रतिशोधपूर्ण राजनीतिक खेलले संगठनलाई कमजोर बनाएको गौतमको आरोप छ। वर्षौँदेखि पार्टीमा योगदान गरेका इमानदार नेता तथा कार्यकर्ताप्रति नेतृत्वले बेइमानी गरेको भन्दै उनले तल्लो तहमा निराशा बढ्दै गएको उल्लेख गरेका छन्।
‘कुकुरको पुच्छर ढुङ्ग्रोमा राखेको भए बरु सिधा हुने थियो होला, तर राप्रपालाई परिष्कृत गर्दै नवीन राप्रपा बनाउन सम्भव देखिएन,’ उनले विज्ञप्तिमा भनेका छन्।
वैकल्पिक राजनीतिका सुरुवाती दिनदेखि करिब एक दशक सक्रिय राजनीतिमा बिताएका गौतमले टोल इकाइदेखि केन्द्रीय सदस्यसम्मका विभिन्न जिम्मेवारीमा रहेर काम गरेको उल्लेख गरेका छन्। राजनीतिक यात्राका क्रममा प्राप्त अनुभव र सिकाइलाई आगामी दिनमा सुसंस्कृत राजनीति, विधिको शासन, राष्ट्रसेवा र समाजसेवामा उपयोग गर्ने उनको प्रतिबद्धता छ।
पार्टीमा रहँदा सहयोग, सद्भाव र शुभेच्छा व्यक्त गर्ने नेता, कार्यकर्ता, सदस्य तथा शुभचिन्तकप्रति आभार व्यक्त गर्दै गौतमले आगामी दिनमा पनि आफ्नो राजनीतिक र सामाजिक सक्रियता जारी राख्ने बताएका छन्।
उनको राजीनामासँगै राप्रपाभित्र नेतृत्वको कार्यशैली, आन्तरिक व्यवस्थापन र संगठनात्मक असन्तुष्टिका विषय पुनः चर्चामा आएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment