जिफन्टको एआई डिजिटल पुस्तकालय सार्वजनिक, १० हजारभन्दा बढी ऐतिहासिक दस्तावेज अब केही सेकेन्डमै खोज्न सकिने

डिसी नेपाल
१६ कार्तिक २०८३ ८:१३
4
Shares

काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले श्रम तथा ट्रेड युनियन आन्दोलनसँग सम्बन्धित १० हजारभन्दा बढी ऐतिहासिक दस्तावेजलाई कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित डिजिटल पुस्तकालयमा रूपान्तरण गरेको छ ।

जिफन्टको अर्गनाइजिङ एकेडेमीअन्तर्गत सन् १९९४ मा स्थापना भएको राष्ट्रिय श्रम स्रोत केन्द्र (एनएलआरसी)ले आइतबार ‘¥याकदेखि स्क्रिनसम्म’ अवधारणासहित उक्त डिजिटल पुस्तकालय सार्वजनिक गरेको हो ।

डिजिटल पुस्तकालयमा श्रम तथा ट्रेड युनियन आन्दोलनसँग सम्बन्धित पुस्तक, अनुसन्धान प्रतिवेदन, तस्बिर, भिडियो लगायतका ऐतिहासिक सामग्री समेटिएका छन् । एआई प्रविधिको प्रयोगबाट ट्रेड युनियन अभियन्ता, प्रशिक्षक, विद्यार्थी तथा अनुसन्धानकर्ताले आफूलाई आवश्यक सामग्री र सूचना केही सेकेन्डमै खोज्न सक्ने जिफन्टले जनाएको छ ।

डिजिटल पुस्तकालय सार्वजनिक गर्ने कार्यक्रममा श्रम इतिहासमा आधारित ‘द्वन्द्वदेखि सह–अस्तित्वसम्म’ नामक पुस्तकसमेत विमोचन गरिएको थियो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ एसिया–प्रशान्त (आईटीयूसी–एपी)का महासचिव शोया योशिदाले जिफन्टको पहलको प्रशंसा गर्दै यसले एसियासहित विश्वभरका मजदुर आन्दोलनलाई थप सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

त्यस्तै, जिफन्टका संरक्षक विष्णु रिमालले राष्ट्रिय श्रम स्रोत केन्द्रमा १० हजारभन्दा बढी पुस्तक तथा ऐतिहासिक सामग्री सङ्कलन रहेको जानकारी दिए ।

हाल परीक्षण चरणमा रहेको एआई डिजिटल पुस्तकालयको सेवा लिन इच्छुकले अनामनगरस्थित राष्ट्रिय श्रम स्रोत केन्द्रमा पुग्न सक्नेछन् । आगामी दिनमा यस सेवालाई मोबाइल एपमार्फत समेत विस्तार गर्ने जिफन्टको योजना छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *