पोखरा–मुग्लिन सडक स्तरोन्नति अन्तिम चरणमा, पश्चिम खण्डको प्रगति ८६ प्रतिशत

डिसी नेपाल
१७ कार्तिक २०८३ ८:४३
4
Shares

गण्डकी । पृथ्वी राजमार्गअन्तर्गतको पोखरा–मुग्लिन सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । कुल ८१ किलोमिटर लामो यस सडकको पूर्वी खण्डको निर्माण सम्पन्न भइसकेको छ भने पश्चिम खण्डको भौतिक प्रगति ८६ प्रतिशत पुगेको छ ।

आयोजना कार्यालयका अनुसार पूर्वी खण्डअन्तर्गत जामुनेदेखि मुग्लिनसम्मको सडक निर्माण सम्पन्न गरी निर्माण कम्पनीले आयोजना कार्यालयलाई हस्तान्तरण गरिसकेको छ । उक्त खण्डमा अहिले त्रुटि सच्याउने अवधि (डिफेक्ट लायबिलिटी पिरियड–डिएलपी) सुरु भएको छ ।

पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार ४१.४५ किलोमिटर लामो सडकमा दमौली र डुम्रे बजार क्षेत्रमा करिब दुई किलोमिटर सडक छ लेनमा विस्तार गरिएको छ भने अन्य क्षेत्रमा चार लेनको सडक निर्माण गरिएको छ । यस खण्डमा १७ वटा पक्की पुलसमेत निर्माण भएका छन् । तनहुँको मादी नदीमा निर्माणाधीन सिग्नेचर पुल भने छुट्टै ठेक्कामार्फत बनिरहेको छ ।

चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले ६ अर्ब २१ करोड ३१ लाख रुपैयाँमा पूर्वी खण्ड निर्माणको ठेक्का पाएको थियो । विसं २०७८ वैशाखदेखि सुरु भएको सडक विस्तार तथा स्तरोन्नतिको काम पूरा भएपछि निर्माण कम्पनीले सडक हस्तान्तरण गरेको हो । सम्झौताअनुसार डिएलपी अवधि सकिएपछि थप पाँच वर्षसम्म सडकको मर्मतसम्भारको जिम्मेवारी पनि निर्माण कम्पनीकै रहनेछ ।

यता, पोखरा–जामुने जोड्ने ३८.८८ किलोमिटर लामो पश्चिम खण्डको निर्माण पनि अन्तिम चरणमा पुगेको छ । पश्चिम खण्डका आयोजना प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरका अनुसार आगामी मङ्सिरभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । हाल करिब पाँच किलोमिटर सर्भिस लेन कालोपत्र गर्न बाँकी रहेको छ भने सडक चिह्न, ट्राफिक सङ्केत र सडक सुरक्षासम्बन्धी काम तीव्र गतिमा भइरहेको छ ।

पोखरा महानगरपालिका–१० स्थित अमरसिंहचोकदेखि सेती पुलसम्म, तालचोक र बूढीबजार क्षेत्रमा सर्भिस लेन कालोपत्र गर्ने तयारी भइरहेको छ । यस खण्डमा १८.५ किलोमिटर सडक छ लेनमा र बाँकी सडक चार लेनमा विस्तार गरिएको छ । सहरी क्षेत्र बढी भएकाले छ लेनको सडक निर्माण गरिएको आयोजनाले जनाएको छ । तनहुँका दुलेगौँडा र खैरेनीटार क्षेत्रमा पनि छ लेनको सडक बनेको छ ।

पश्चिम खण्डमा निर्माण गर्नुपर्ने १३ वटा पुलमध्ये १२ वटा सम्पन्न भइसकेका छन् । पोखराको सेती नदीमाथि बन्ने सिग्नेचर पुल भने छुट्टै ठेक्काअन्तर्गत निर्माणाधीन छ । यस खण्डको ठेक्का चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले सात अर्ब ४० करोड ४६ लाख रुपैयाँमा पाएको थियो । विसं २०७८ जेठ २ गते सम्झौता भई भदौ १२ गतेदेखि निर्माण सुरु गरिएको थियो ।

एसियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालित पोखरा–मुग्लिन सडक आयोजना गण्डकी प्रदेशको आर्थिक तथा पर्यटकीय गतिविधिका दृष्टिले महत्वपूर्ण मानिन्छ । सडक विस्तारको कामले सुरुमा अपेक्षित गति लिन नसक्दा पर्यटन व्यवसायी तथा स्थानीयले निर्माणमा ढिलासुस्ती नगर्न दबाब दिएका थिए ।

सडक स्तरोन्नतिसँगै काठमाडौँ, चितवनलगायत स्थानबाट पोखरा आवतजावत गर्ने यात्रुको यात्रा सहज बनेको छ । निर्माणका क्रममा धुलो, हिलो र घण्टौँसम्मको जाम खेप्न बाध्य यात्रुले अहिले फराकिलो चार लेनको सडकबाट यात्रा गर्न पाएका छन् ।

सडक विस्तारसँगै पोखराका अमरसिंहचोक, अर्घौंचोक, बुद्धचोक र तालचोकलगायत क्षेत्रका साँघुरा चोक पनि फराकिला बनेका छन् । सडक मापदण्डविपरीतका संरचना हटाएर चोक तथा सडकलाई व्यवस्थित बनाइएको छ । यसले पोखराको यातायात व्यवस्थापनसँगै पर्यटन, व्यापार र समग्र आर्थिक गतिविधिमा समेत सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *