हेलिकप्टर दुर्घटनाका घाइतेलाई मेडिसिटी अस्पताल ल्याइयो
काठमाडौं। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-४ स्थित फेरुचेमा दुई हेलिकप्टर ठोक्किँदा एक भारतीय पर्यटकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। घाइतेलाई उद्धार गरेर ललितपुरस्थित मेडिसिटी अस्पताल ल्याइएको छ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार मंगलबार बिहान ८ बजेर ११ मिनेटमा फिस्टेल एयर र डाइनास्टिक एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा आपसमा ठोक्किएका हुन्।
दुर्घटनामा भारतीय नागरिक वसन्त कुमार बालारामारामाडुको मृत्यु भएको उनले बताए। दुर्घटनामा घाइते भएका शैलेश कृष्ण पटेललाई प्रभु हेलिकप्टरमार्फत उद्धार गरी मेडिसिटी अस्पताल पुर्याइएको भन्दै उनले पटेलसँग भारतीय राहदानी भए पनि उनी न्युजिल्यान्डका नागरिक रहेको जानकारी दिए।
दुर्घटनामा मृत्यु भएका व्यक्तिको शव लुक्लास्थित अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न दुवै हेलिकप्टरका पाइलट सकुशल रहेको तामाङले बताए। दुर्घटनाका बेला दुवै हेलिकप्टरमा कति यात्रु सवार थिए भन्ने विवरण खुल्न बाँकी रहेको र घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment