बालबालिकालाई भिटामिन ‘ए’ किन आवश्यक छ ?
काठमाडौं। सरकारले बालबालिकाको समग्र स्वास्थ्य सुरक्षा, पोषण सुधार तथा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागि देशभर राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने अभियान सुरु गरेको छ।
अभियानअन्तर्गत कात्तिक १७ र १८ गते दुई दिन देशभरका ६ देखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १२ देखि ५९ महिनासम्मका २० लाखभन्दा बढी बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्यले अभियान सुरु गरेको हो।
भिटामिन ‘ए’ किन आवश्यक ?
भिटामिन ‘ए’ बालबालिकाको शारीरिक वृद्धि, आँखाको स्वास्थ्य र समग्र रोग प्रतिरोधी प्रणाली (इम्युनिटी) का लागि अपरिहार्य सूक्ष्म पोषक तत्व हो। यसको कमी हुँदा बालबालिकामा दृष्टि कमजोरी हुने, आँखाको नानी सुक्खा हुने र अन्धोपन निम्त्याउने ‘रतन्धो’ (नाइट ब्लाइन्डनेस) को जोखिम उच्च रहन्छ। साथै, नियमित भिटामिन ‘ए’ सेवनले बालबालिकालाई झाडापखाला, निमोनिया तथा दादुराजस्ता सङ्क्रामक रोगहरू विरुद्ध लड्ने क्षमता प्रदान गर्छ। जुकाको औषधिले बालबालिकामा आन्द्राको परजीवी नियन्त्रण गरी रक्तअल्पता (एनिमिया) र कुपोषण हुनबाट जोगाउँछ।
स्वास्थ्य स्वयंसेविका बबी महर्जनका अनुसार बालबालिकाको उमेरअनुसार निश्चित मात्रा मिलाएर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइन्छ। ६ महिनादेखि १ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ आधा क्याप्सुल र १ वर्षदेखि ५ वर्ष मुनिकालाई पूरै एक क्याप्सुल खुवाइन्छ। त्यस्तै, १ देखि २ वर्षमुनिका बालबालिकालाई जुकाको औषधि आधा चक्की र २ वर्ष माथिकालाई एक चक्की खुवाइने व्यवस्था छ। यसको कुनै नकारात्मक असर नहुने भएकाले ढुक्क भएर खुवाउन उनले अभिभावकहरूलाई आग्रह गरिन्।
‘हरेक बार, खाना चार’ मा जोड
अभियानका क्रममा खोप केन्द्रहरूमा भिटामिन ‘ए’ र बालभिटा वितरणसँगै पोषणसम्बन्धी व्यावहारिक प्रदर्शनी (डेमो) समेत गरिएको छ। स्वयंसेविका महर्जनका अनुसार बालबालिकालाई क्याप्सुलका अतिरिक्त घरमै पाइने सन्तुलित आहार ‘हरेक बार, खाना चार’ नियमित खुवाउन आवश्यक छ।
बालबालिकाको खानामा कार्बोहाइड्रेटका लागि चामल, मकै वा च्युरा; प्रोटिनका लागि गेडागुडी; पशुजन्य स्रोतबाट दूध, दही, घ्यू तथा अण्डा र भिटामिनका लागि स्थानीय रूपमा पाइने हरियो सागपात, धनियाँ एवं पहेँला फलफूल (मेवा, अम्बा, केरा) अनिवार्य समावेश गर्नुपर्ने सन्देश केन्द्रमार्फत प्रवाह गरिएको छ। हाल बालबालिकाको पोषण र स्वास्थ्यप्रति अभिभावकहरूको चासो र उपस्थिति उल्लेख्य रूपमा बढेको स्वयंसेविकाहरू बताउँछन्।
स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको पोषण शाखा प्रमुख लीलाविक्रम थापाका अनुसार अभियान सञ्चालनका लागि देशभर आवश्यक औषधि ढुवानी भइसकेको छ।
नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै शाखा प्रमुख थापाले भिटामिन ‘ए’ वितरण कार्यक्रम सफल बनाउन देशभर करिब ५१ हजार महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको जानकारी दिए। कार्यक्रमको अनुगमन तथा सहजीकरणका लागि करिब १० हजार स्वास्थ्यकर्मी र स्थानीय तहका जनप्रतिनिधिहरू समेत कार्यक्षेत्रमा खटिएका छन्।
देशभरका ७५३ वटै स्थानीय तहमा सञ्चालन भइरहेको यस कार्यक्रमका लागि बालबालिकाको सङ्ख्याका आधारमा आवश्यक आपूर्ति सुनिश्चित गरिएको छ। स्थानीय तहहरूले आफ्ना वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्था तथा पायक पर्ने सार्वजनिक स्थलहरूमा वितरण केन्द्र तोकेर सेवा प्रवाह गरिरहेका छन्। सरकारले प्रत्येक वर्ष वैशाख र कात्तिक महिनामा यो राष्ट्रिय कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै आएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment