नेपाल लाइफ इन्स्योरेन्सको रेटिङ ‘डबल ए’ मा स्तरोन्नति : वित्तीय सुदृढीकरणमा ऐतिहासिक सफलता
काठमाडौं। नेपालको जीवन बीमा क्षेत्रमा अग्रणी स्थान ओगटेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इक्रा नेपालद्वारा प्रदान गरिएको ‘इस्सुलर रेटिङ’ ‘डबल ए माइनस’ बाट स्तरोन्नति भई ‘डबल ए’ पुगेको छ।
इक्रा नेपालले कम्पनीको समग्र वित्तीय अवस्था, सोल्भेन्सी प्रोफाइल, लगानी संरचना तथा प्रतिफल, बलियो बजार उपस्थिति, सञ्चालन क्षमता र व्यवस्थापकीय सबलताको कसरी मूल्यांकन गर्दै यो रेटिङ स्तरोन्नति गरेको हो।
इक्रा नेपालका अनुसार ‘डबल ए’ (AA) रेटिङ प्राप्त गर्ने संस्थाहरूलाई आफ्ना वित्तीय दायित्वहरू समयमै पूरा गर्ने सन्दर्भमा उच्च स्तरको सुरक्षा तथा अत्यन्त न्यून क्रेडिट जोखिम भएका भरपर्दो संस्थाका रूपमा हेर्ने गरिन्छ।
यसअघि जीवन बीमा क्षेत्रमै इक्रा नेपालबाट ‘डबल ए माइनस’ (AA−) रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बनेको नेपाल लाइफको यो रेटिङ थप एक तह माथि उक्लिँदै ‘डबल ए’ (AA) मा पुग्नु कम्पनीको निरन्तर वित्तीय सुदृढीकरण र संस्थागत उत्कृष्टताको एक महत्त्वपूर्ण उपलब्धि हो।
इक्रा नेपालको पछिल्लो मूल्याङ्कन अनुसार कम्पनीको सोल्भेन्सी अनुपात अघिल्लो अवधिको करिब १४५ प्रतिशतबाट बढेर करिब १५४ प्रतिशत पुगेको छ, जुन नियामक निकायले तोकेको न्यूनतम १३० प्रतिशतको सीमाभन्दा धेरै माथि रहेको छ।
साथै, कम्पनीले सरकारी सुरक्षणमा लगानी विस्तार गर्नुका साथै मुद्दती निक्षेपमा रहेको लगानी एकाग्रतालाई घटाएर आफ्नो लगानी पोर्टफोलियोलाई अझ बढी विविधीकृत र सुरक्षित बनाएको छ।
आर्थिक वर्ष २०२५/२६ मा कुल बीमा शुल्क आर्जनका आधारमा कम्पनीको बजार हिस्सा करिब २७ प्रतिशत रहेको छ। यस अवधिमा कम्पनीले करिब ५४ अर्ब रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ भने जीवन बीमा कोष करिब २७३ अर्ब रुपैयाँ र पोलिसी लोनसहितको कुल लगानी करिब २८५ अर्ब रुपैयाँ पुगेको छ।
सन् २००१ देखि अविरल रूपमा सञ्चालनमा रहेको यस कम्पनीले जुलाई २०२६ को मध्यसम्म देशभर १९६ वटा शाखा, उपशाखा तथा क्षेत्रीय कार्यालयमार्फत आफ्ना सेवाहरू प्रभावकारी ढङ्गले प्रदान गर्दै आएको छ।
देशव्यापी रूपमा फैलिएको शाखा सञ्जाल, सशक्त अभिकर्ता संरचना, अनुभवी सञ्चालक समिति, दक्ष व्यवस्थापन टोली र बजारमा रहेको बलियो उपस्थिति कम्पनीका मुख्य सबल पक्ष रहेको इक्रा नेपालले औंल्याएको छ।
कम्पनीले जोखिम व्यवस्थापनलाई सधैँ उच्च प्राथमिकतामा राख्दै नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र हिमालयन रिइन्स्योरेन्स लिमिटेडसँग पर्याप्त पुनर्बीमाको व्यवस्था मिलाएको छ।
यसका साथै, आकस्मिक तथा विपद्जन्य जोखिमहरूको सुदृढ व्यवस्थापनका लागि कम्पनीसँग पर्याप्त ‘क्याटास्ट्रोफिक कभर’ (Catastrophic Cover) का साथै करिब १ अर्ब ५४ करोड रुपैयाँको बलियो विपद् जगेडा कोषसमेत रहेको छ।
यस गौरवशाली अवसरमा धारणा व्यक्त गर्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (CEO) प्रवीण रमण पराजुलीले यो रेटिङ स्तरोन्नतिलाई कम्पनीको निरन्तर सुधार, उच्च संस्थागत सुशासन, कडा वित्तीय अनुशासन र समस्त सरोकारवालाहरूको अटुट विश्वासको सुमधुर प्रतिफलका रूपमा πलिएका छन्।
उनी भन्छन्, “डबल ए माइनसबाट डबल ए मा भएको यो स्तरोन्नति नेपाल लाइफको निरन्तर उत्कृष्टता, वित्तीय सुदृढता र दीर्घकालीन प्रतिबद्धताको महत्वपूर्ण उपलब्धि हो। यसले हामीलाई अझ जिम्मेवार, सुदृढ र दिगो संस्थाका रूपमा अगाडि बढ्न थप प्रेरित गरेको छ।”
प्रमुख कार्यकारी अधिकृत पराजुलीले यस सफलताका लागि कम्पनीका सञ्चालक समिति, सम्पूर्ण सम्मानित बीमितहरू, कर्मठ अभिकर्ताहरू, समर्पित कर्मचारीहरू, शेयरधनीहरू, नियामक निकाय नेपाल बीमा प्राधिकरण तथा सम्पूर्ण सरोकारवालाहरूमा हार्दिक धन्यवाद ज्ञापन गरेका छन्।
साथै, आगामी दिनहरूमा पनि कम्पनीको सोल्भेन्सी अवस्थालाई अझ सुदृढ बनाउने, लगानी विविधीकरण र विवेकपूर्ण जोखिम व्यवस्थापनलाई उच्च प्राथमिकतामा राख्ने तथा समस्त सरोकारवालाहरूको दीर्घकालीन हित र विश्वासलाई सधैँ केन्द्रबिन्दुमा राखेर अगाडि बढ्ने दृढ प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment