नसर्ने रोग नियन्त्रणमा सरकार आक्रामक : बहुक्षेत्रीय कार्ययोजना र जनचेतना अभिवृद्धिमा जोड
काठमाडौं। सरकारले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजनाको प्रभावकारी कार्यान्वयन र सार्वजनिक स्वास्थ्य क्षेत्रमा सुधारका प्रयासहरूलाई तीव्रता दिएको छ।
यसै क्रममा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहका स्वास्थ्य सल्लाहकारको अध्यक्षतामा नसर्ने रोगको वर्तमान अवस्था, चुनौती र आगामी रणनीतिका विषयमा एक उच्चस्तरीय छलफल सम्पन्न भएको छ।
उक्त बैठकले मुख्य गरी स्वास्थ्य प्रवर्धनमार्फत नसर्ने रोगको दीर्घकालीन रोकथाममा ठोस पहल गर्ने निष्कर्ष निकालेको छ। यसै गरी, बहुक्षेत्रीय कार्ययोजनाको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नका लागि सबै विषयगत मन्त्रालयहरूसँग सघन अन्तरक्रिया गर्ने र छिटै नियमित समीक्षा बैठकहरू सञ्चालन गर्ने महत्त्वपूर्ण निर्णय गरिएको छ।
बैठकमा स्वस्थ जीवनशैलीसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू प्रभावकारी रूपमा फैलाउने, नसर्ने रोग नियन्त्रणका लागि स्थानीय तहहरूसँग दरिलो समन्वय कायम गर्ने, विद्यालय तहदेखि नै सार्वजनिक स्वास्थ्य शिक्षा अनिवार्य लागू गर्ने तथा विशेषज्ञ चिकित्सकहरूलाई देशमै टिकाइराख्ने वातावरणीय सुधारका विषयमा विस्तृत छलफल भएको थियो।
साथै, सुर्तीजन्य पदार्थ, इनर्जी ड्रिंक, जंक फुड, विषादीयुक्त खाद्य सामग्री र अस्वस्थ जीवनशैलीलाई नसर्ने रोगका मुख्य कारक तत्त्वका रूपमा औँल्याउँदै तिनको नियन्त्रण तथा कडा नियमनमा सरकारले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिइएको छ।
सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा क्यान्सरलगायतका जटिल नसर्ने रोग नियन्त्रणका लागि केवल उपचारमा मात्र सीमित नभई रोग लाग्नै नदिने रोकथाम, व्यापक जनचेतना, नियमित स्वास्थ परीक्षण र जीवनशैलीमा आधारित सुधारका रणनीतिहरू कार्यान्वयन गर्ने नीति अख्तियार गरेको छ।
सन् २०३० सम्ममा नसर्ने रोगका कारण हुने अकाल मृत्युलाई एक तिहाइले घटाउने संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य हासिल गर्न नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment