‘छ माया छपक्कै २’ असफलताको जिम्मेवारी लिन्छु, अर्को दशैंमा ‘छ माया छपक्कै ३’ ल्याउँछु: दीपकराज गिरी

डिसी नेपाल
१८ कार्तिक २०८३ १४:४६

काठमाडौं।  अभिनेता तथा निर्माता दीपकराज गिरीले यस वर्षको दशैंमा प्रदर्शनमा आएको आफ्नो चलचित्र ‘छ माया छपक्कै २’ बक्स अफिसमा असफल भएको स्वीकार गर्दै त्यसको सम्पूर्ण जिम्मेवारी आफैँले लिने बताएका छन्।

सामाजिक सञ्जालमार्फत लामो आत्मसमीक्षात्मक धारणा सार्वजनिक गर्दै उनले असफलताका कारणहरूबारे गम्भीर भएर सोच्नुपर्ने बताएका हुन्।

फिल्मकर्मीलाई व्यङ्ग्य र बक्स अफिसको अंकगणित

गिरीले आफ्नो फिल्म असफल हुँदा चलचित्र वृत्तका केही साथीहरूलाई खुसी मिलेको हुन सक्ने भन्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्।

‘हामी मात्रै होइन, यी मोराहरू पनि फ्लप भए’ भन्ने सोचले केहीलाई आनन्द मिलेको हुन सक्ने उल्लेख गर्दै उनले फिल्म सफल हुँदा उत्सव मनाउने र असफल भएपछि अनेक बहानाबाजी र दोषारोपण गर्ने प्रवृत्ति हावी रहेको बताएका छन्। फिल्म असफल हुनुमा सामाजिक सञ्जालको बहिष्कार (बायकट) अभियानलाई कारण देखाउनु केवल मन बुझाउने बाटो मात्र भएको उनको भनाइ छ।

आफ्नो फिल्मको असफलताका बीच दशैंमा रिलिज भएका अन्य फिल्महरूको व्यापारिक अवस्थाबारे तुलना गर्दै उनले अघिल्ला श्रृंखलाहरूले क्रमशः २१ करोड, १९ करोड, १२ करोड र ९ करोड रुपैयाँ आम्दानी गरेकोमा यसपटक ती फिल्महरू क्रमशः १० करोड, २ करोडभन्दा केही बढी, ६ करोडभन्दा केही बढी र ३ करोडभन्दा केही बढीमा खुम्चिएको दाबी गरेका छन्। अन्य फिल्मको व्यापार पनि कमजोर रहेकाले आफ्नो पीडा केही कम भए पनि त्यसले आफ्नो असफलतालाई नमेट्ने उनले स्पष्ट पारेका छन्।

सामूहिक आत्मसमीक्षाको आवश्यकता र ‘छ माया छपक्कै ३’ को घोषणा

नेपाली चलचित्र उद्योगका सबै पक्षले आफ्ना गतिविधि र रणनीतिबारे आत्मसमीक्षा गर्नुपर्नेमा गिरीले जोड दिएका छन्। आफू मात्रै अगाडि देखिन वा जित्नका लागि गरिने गतिविधिहरू कतै आफ्नै खुट्टामा बन्चरो साबित भइरहेका त छैनन् भन्ने प्रश्न उठाउँदै उनले उद्योगको भविष्यका लागि सामूहिक सोच आवश्यक रहेको बताएका छन्।

आफ्नो सम्पूर्ण टिमको तर्फबाट असफलताको जिम्मेवारी लिँदै उनले दर्शकहरूका रचनात्मक सुझाव र प्रतिक्रियालाई समेटेर आगामी वर्षको दशैंमा ‘छ माया छपक्कै ३’ लिएर पुनः दर्शकमाझ आउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *