नागढुंगा सुरुङमार्ग: चार दिनमा ५१ लाख ८७ हजार संकलन, दैनिक आठ हजार सवारीसाधन आवतजावत

डिसी नेपाल
१९ कार्तिक २०८३ १८:१९

काठमाडौं। नागढुंगा सुरुङमार्ग सञ्चालनमा आएदेखि हालसम्म ५१ लाख ८७ हजार रुपैयाँ टोल दस्तुर संकलन भएको छ। कात्तिक १५ गते आइतबारदेखि सञ्चालनमा आएको यस सुरुङमार्गबाट नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका अनुसार दैनिक करिब ८ हजारको हाराहारीमा सवारी साधन आवतजावत गरिरहेका छन्।

नेपाल न्यूज बैंकसँग कुरा गर्दै आयोजनाका उपआयोजना निर्देशक तथा सूचना अधिकारी सञ्जय पन्थीले सुरुङमार्ग सञ्चालनमा आएको पाँच दिनमा सवारीसाधनको चाप क्रमशः बढ्दै गएको जानकारी दिए।

उनका अनुसार पहिलो दिन आइतबार करिब सात हजार ५०० सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेकामा त्यसयता दैनिक आवतजावत गर्ने सवारीसाधनको संख्या बढेर आठ हजारको हाराहारीमा पुगेको हो।

सुरुङमार्ग सञ्चालनको पहिलो दिन ११ लाख ७० हजार रुपैयाँ, दोस्रो दिन १२ लाख ७१ हजार रुपैयाँ, तेस्रो दिन १३ लाख १५ हजार रुपैयाँ र चौथो दिन १४ लाख ३१ हजार रुपैयाँ रकम संकलन भएको छ। पाँचौँ दिनको पूर्ण विवरण भने संकलन प्रक्रिया पूरा भई राति १२ बजेपछि मात्रै अद्यावधिक हुने भएकाले तत्काल यकिन तथ्यांक प्राप्त भइनसकेको पन्थीले बताए।

टोल दस्तुर संकलन सुरु भएपछि केही सवारीचालकबाट भने सानातिना समस्या देखिएको आयोजनाको भनाइ छ। विशेषगरी भारतीय नम्बर प्लेटका केही सवारीसाधनका चालकले तत्काल शुल्क तिर्न रकम नभएको बताउने र पछि शुल्क तिर्ने गरी अन्यत्र जान खोज्दा सुरुङमार्ग प्रवेश बिन्दुमा केही समय अवरोध हुने गरेको पन्थीले बताए। त्यस्ता घटनाका कारण कहिलेकाहीँ सवारीसाधनको लाम लाग्ने र जाम हुने समस्या देखिने गरेको छ।

पन्थीका अनुसार केही भारतीय नम्बर प्लेटका सवारीसाधनले शुल्क तिर्न पैसा नभएको बताउने र टोलबाट डाइभर्ट हुन खोज्दा वा पछि रकमको व्यवस्था गरेर शुल्क तिर्दा केही समय लाग्ने गरेको छ। यद्यपि अहिले अधिकांश चालकले सहज रूपमा शुल्क तिरिरहेका छन्।

शुल्कबारे सबैलाई जानकारी भइसकेकाले धेरैजसो चालकले भुक्तानी गर्ने रकम पहिले नै तयारी अवस्थामा राखेर दिने गरेका छन्, जसले गर्दा शुल्क संकलनको काम छिटो भई जामको समस्या पनि कम हुँदै गएको छ।

पछिल्ला दिनमा सुरुङमार्ग प्रवेश गर्ने स्थानमा सवारीसाधनको लाम लाग्ने समस्या पनि घट्दै गएको आयोजनाले जनाएको छ। पन्थीका अनुसार पाँचौँ दिन बिहान अघिल्ला दिनहरूको तुलनामा सवारीसाधनको लाम निकै कम देखिएको थियो।

सवारीसाधनको चाप व्यवस्थापन र शुल्क संकलनलाई थप तीव्र र सहज बनाउन विद्युतीय टोल भुक्तानी प्रणाली (एनट्याग) को प्रयोग बढाउने तयारी गरिएको छ। यसका लागि एनट्याग वितरण कार्य सुरु भइसकेको पन्थीले जानकारी दिए। उनका अनुसार कुमारी बैंकले सातवटै प्रदेशमा एनट्याग पठाइसकेको छ भने ई–सेवाका आधिकारिक विक्रेतामार्फत पनि एनट्याग उपलब्ध हुने व्यवस्था मिलाइएको छ।

जामको मुख्य समस्या समाधान गर्न कुमारी बैंकले एनट्याग कार्ड वितरण सुरु गरिसकेको र ई-सेवाका आधिकारिक विक्रेताहरूसँग सम्झौता गरी उनीहरूमार्फत समेत एनट्याग उपलब्ध गराइएको छ।

नियमित रूपमा सुरुङमार्ग प्रयोग गर्ने सवारीचालकहरूले एनट्याग प्रयोग गरेमा शुल्क संकलनमा लाग्ने समय घट्ने र सवारीसाधनको लाम तथा जामको समस्या पूर्ण रूपमा समाधान हुने अपेक्षा आयोजनाले राखेको छ। पन्थीले नियमित चालकहरूलाई एनट्याग लिएर प्रयोग गर्न आग्रह गर्दै यसबाट टोल दस्तुर भुक्तानी छिटो र सहज हुने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *