डेभिड वार्नरको आक्रामक ब्याटिङ: काठमाडौं गोर्खाजद्वारा विराटनगर किंग्स ९ विकेटले पराजित

डिसी नेपाल
१९ कार्तिक २०८३ १९:५३

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार सम्पन्न खेलमा काठमाडौं गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको सानदार जित दर्ता गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा विराटनगरले प्रस्तुत गरेको ८४ रनको सामान्य लक्ष्य काठमाडौंले मात्र ९.४ ओभरमा १ विकेट गुमाएर ८६ रन बनाउँदै सहजै पूरा गर्‍यो।

पहिलो खेलमा हार व्यहोरेको काठमाडौं गोर्खाजको यो लगातार दोस्रो जित हो। यस जितसँगै काठमाडौंले ३ खेलबाट ४ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। अर्कोतर्फ, पाँच खेल खेलिसकेको विराटनगर किंग्सको यो तेस्रो हार हो। विराटनगरको पनि ४ अंक भए पनि नेट रनरेटका आधारमा टोली पाँचौं स्थानमा खस्किएको छ।

काठमाडौंको जितमा अष्ट्रेलियन स्टार क्रिकेटर डेभिड वार्नरले विस्फोट ब्याटिङ गर्दै अविजित ४४ रन बनाए। उनले मात्र २४ बलको सामना गरी २ चौका र ३ छक्का प्रहार गरे। यस्तै, अर्का अष्ट्रेलियन खेलाडी विलियम बोसिस्टोले २४ बलमा ३ चौकाको मद्दतमा अविजित २३ रन जोडे।

दोस्रो विकेटका लागि वार्नर र बोसिस्टोले अविजित ७९ रनको महत्त्वपूर्ण साझेदारी गर्दै टोलीलाई जितको दिशा दिए। ओपनर साहिल पटेल भने ११ बलमा १० रन बनाएर आउट भए। विराटनगरका लागि एकमात्र विकेट अपराजित पौडेलले लिए।

त्यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगर किंग्स १९.३ ओभरमा मात्र ८३ रनमा अलआउट भएको थियो। विराटनगरका ब्याटरहरू काठमाडौँका बलरसामु निरिह देखिए।

नवौँ नम्बरमा ब्याटिङ गर्न आएका रुपेश सिंहले सर्वाधिक २६ रन बनाए। उनले २७ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे। रुपेशबाहेक एन्जेलो म्याथ्युजले २२ रन र बसिर अहमदले १० रन जोडे। विराटनगरका लागि यी तीन खेलाडीले मात्र दोहोरो अंकमा रन बनाउन सके।

शेहान जायसूर्या ५, लोकेश बम ६, आन्द्रे रसेल ३ र अपराजित पौडेल २ रनमा आउट भए। यस्तै, इमरान शेख, नारायण जोशी र शुभम रन्जाने खाता खोल्न असफल रहे। कप्तान सन्दीप लामिछाने ३ रनमा अविजित रहे।

विराटनगरको पारीमा आठौँ विकेटका लागि एन्जेलो म्याथ्युज र रुपेश सिंहले गरेको ३९ रनको साझेदारी नै सर्वाधिक रह्यो।

काठमाडौँ गोर्खाजका लागि युवा लेग स्पिनर सन्तोष यादवले उत्कृष्ट बलिङ गर्दै ३ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए। यस्तै, सहान अराचिगे र जहानदान खानले २/२ विकेट हात पारे भने कप्तान करण केसी, शाहब आलम र देव शाहले १/१ विकेट लिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *