प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको निम्तो

डिसी नेपाल
१९ कार्तिक २०८३ २०:०३

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको आसन्न भारत भ्रमणको तयारी तीव्र पारिएको भारतीय पक्षले जनाएको छ। नेपालको दुईदिने औपचारिक भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्दै भ्रमणबारे जानकारी दिएका हुन्।

भेटका क्रममा विदेश सचिव मिस्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट सन्देश हस्तान्तरण गर्दै प्रधानमन्त्री शाहको भारत भ्रमणलाई ऐतिहासिक र सफल बनाउन भारत सरकारका तर्फबाट तीव्र रूपमा तयारी भइरहेको बताए।

सो अवसरमा प्रधानमन्त्री शाहले हालै गएको विनाशकारी रसुवा-भोटेकोशी बाढीपछि भारत सरकारले ‘फर्स्ट रेस्पोन्डर’का रूपमा तुरुन्तै राहत सामग्री र उद्धार टोली पठाई पुर्‍याएको सहयोगप्रति आभार व्यक्त गरे।

साथै विपद्का बेला फोनमार्फत सहयोगको ऐक्यबद्धता जनाएकामा भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद ज्ञापन गर्दै शाहले नेपालको खेलकुद क्षेत्रको विकास र स्तरोन्नतिका लागि भारतसँग सहकार्य गर्ने विषयमा चासो व्यक्त गरे।

जवाफमा भारतीय विदेश सचिव मिस्रीले ऊर्जा, जलस्रोत, व्यापार-पारवहन तथा उड्डयनसम्बन्धी दुई देशका द्विपक्षीय संयन्त्रका नियमित बैठकहरू सफलतापूर्वक सम्पन्न भएको जानकारी गराए।

साथै, भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म सोझै रेलमार्ग सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको र सोही मार्गमा परीक्षण सञ्चालन (ट्रायल रन) समेत भइसकेको उनले प्रधानमन्त्री शाहलाई जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *