दरबारमार्गमा काग सम्मेलन, सयौँ काग एकै ठाउँमा भेला

डिसी नेपाल
२१ कार्तिक २०८३ १७:५६

काठमाडौं। यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहारका अवसरमा आज काठमाडौँस्थित नारायणहिटी दरबारअगाडि ‘काग सम्मेलन’ आयोजना गरिएको छ।

कागको संरक्षण, पर्यावरणीय सन्तुलन कायम राख्न यसको भूमिका तथा नेपाली मौलिक संस्कृतिमा कागको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले राष्ट्रिय सङ्गीतकर्मी सङ्घले २३औँ काग सम्मेलन आयोजना गरेको हो।

सम्मेलनमा कलाकार रमेश दुलालले कागको आवाज निकालेर विभिन्न स्थानमा रहेका सयौँ कागलाई एकै ठाउँमा भेला पार्नुभएको थियो। उहाँले कागको आवाज निकाल्न थालेपछि वरपरका रुख तथा आकाशबाट कागहरू सम्मेलनस्थलमा जम्मा भएका थिए। दुलालले १७३ प्रकारका जीवजन्तु तथा चराचुरुङ्गीको आवाज निकाल्न सक्ने बताइएको छ।

नेपाली समाजमा कागलाई सन्देशवाहक चराका रूपमा लिने परम्परा छ। तिहारको पहिलो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गरी खानेकुरा दिने चलन छ। कागलाई खुसी पार्न सके अशुभ समाचार सुन्नु नपर्ने तथा परिवारमा सुख, शान्ति र समृद्धि कायम हुने धार्मिक विश्वास रहिआएको छ।

हिन्दू धार्मिक मान्यताअनुसार कागलाई यमराजको दूत मानिन्छ। त्यसैले यमपञ्चकको पहिलो दिन बिहानै घरको छत, आँगन वा खुला स्थानमा पातमा भात तथा विभिन्न परिकार राखेर कागलाई बोलाउने र खुवाउने प्रचलन छ। कागले मानिसका सन्देश यमराजसमक्ष पुर्‍याउने धार्मिक विश्वाससमेत रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *