प्रहरीको बर्दीमा पोष्ट गरिएको त्यो तस्वीर जसका कारण भिटेन पक्राउ परे
काठमाडौं। चर्चित र्यापर भिटेन पक्राउ परेका छन्। बिहीबार महानगरीय अपराध महाशाखाको टोलीले भिटेन उर्फ समीर घिसिङलाई जाउलाखेलबाट नियन्त्रणमा लिएको हो।
उनी पछिल्लो समय ‘हामी यस्तै त हो नी ब्रो’ गीतबाट चर्चामा आएका थिए। त्यही गीतमा भएका शब्दहरु र फेसबुकमा प्रहरीको बर्दीमा रहेको तस्वीर राखेको आधारमा उनलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले डिसी नेपाललाई जानकारी दिए।
गीतमा उनले ‘पुलिसचौकी भित्र गर्छु दारु खाँदै मस्ती’ भन्ने वाक्य समेत प्रयोग गरेका छन्।
‘गीतमा प्रहरीलाई नै जथाभावी भनिएको छ’ एसएसपी थापाले डिसी नेपालसंग भने –‘सामाजिक सञ्जालमा प्रहरीको बर्दीमा चुरोट तानिरहेको र हातले गाँजा केलाइहेको तस्वीर पोष्ट गरिएको छ्।’ भिटेनमाथि कानूनी कारबाही प्रक्रिया अगाडि बढाईने एसएसपी थापाले बताए।
प्रहरीले दुई दिनअघिमात्र ‘ह्याप्पी तिहार’ बोलको गितका कारण गायक तथा मोडल दुर्गेश थापालाई नियन्त्रणमा लिएको थियो। महाशाखाको टोलीले अब उप्रान्त समाजमा अपाच्य गीत नगाउने कागजी सम्झौतासहित थापालाई छाडेको थियो।

No ads found for this position


डिसी नेपाल
Facebook Comment