‘धुर्मुस’को बाल्यकालको तिहार : बहिनीलाई दिने दक्षिणा जुटाउने पिरलो हुन्थ्यो

डिसी नेपाल
१२ कार्तिक २०७६ १२:०५

काठमाडौं। हास्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस)लाई सबैभन्दा मन पर्ने चाड हो तिहार । उनी भन्छन्– ‘जताततै झिलिमिली, संगीतमय वातावरणले मनमा छुट्टै ऊर्जा मिलेको आभाष हुन्छ। दाजुभाइ–दिदीबहिनीसंग रम्ने चार्ड नै तिहार हो।’

सिताराम जेठा हुन्। उनका दुई भाइ र दुई बहिनी छन्। उनका माइला भाइ कुमार कट्टेल ‘जिग्री’ र कान्छा भाइ प्रकाश पनि कलाकारिता क्षेत्रमा आवद्ध। उनका दुई बहिनी हुन् शान्ता आचार्य र पुष्पा कट्टेल।

उनी यसवर्ष बालकुमारीमा रहेकी जेठी बहिनीको घरमा टीका लगाएर तिहार मनाउँदैछन्। पारिवारिक भेटघाट, रमाइलो गरी उनको यसवर्षको तिहार बितिरहेको छ। ‘म केही वर्षयता जस्तोसुकै व्यस्ततामा पनि दशैं तिहारका निम्ति समय निकाल्छु’– उनी भन्छन्।

बाल्यकालमा जन्मस्थान सोलुखुम्बुको नेचाबेतघारीमा मनाएको तिहार सिताराम सधै सम्झन्छन्। बाल्यकालमा तिहार नजिकिएसंगै निकै उत्साहित हुन्थे। तर, उनलाई एउटा कुराले भने पिरोल्थ्यो। त्यो के भने तिहारको टीका लगाएको पैसा आफै कमाएर दिनुपर्छ भन्ने मान्यता हुँदा दक्षिणा आफै जुटाउनुपथ्र्यो।

‘अरु कुराको लागि भए त घरबाट दिनुहुन्थ्यो, तर तिहारको टीका लगाएको पैसा आफै कमाएर दिनुपर्छ भन्ने मान्यता हुँदा म दक्षिणा जम्मा गर्न साथिहरुसंग रातभरी देउसी–भैलो खेल्थेँ’ उनी सम्झन्छन्। देउसी भैलो खेलर दक्षिणाका लागि पैसा पनि जम्मा गर्थे। पछि फेरी साथीहरु तास, कौडा खेल्न उक्साउँथे। सिताराम हाँस्दै सुनाउँछन्, ‘त्यसपछि बहिनीलाई दक्षिणा दिनका लागि रातभर देउसी खेलेर जम्मा गरेको पैसा सकिन्थ्यो।’

उनी ति दिन सम्झँदै अगाडी थप्छन् ‘भाइटीकाको दिन देउसी भैलो खेल्न हिँड्नु नि भएन्। यसरी देउसी भैलोबाट बहिनीलाई दिन जम्मा गरेको दक्षिणा सकिँदा कतिपटक उधारो है भनेर टार्थे।’

बाल्यकालमा रमेर देउसी खेलेपनि पछिल्ला वर्षहरुमा कार्यब्यस्तताले नभ्याएको सिताराम बताउँछन्। ‘बाल्यकालमा देउसी खुबै खेल्थेँ। अहिले अरु खेलेको हेर्दा, सुन्दा रमाईलो लाग्छ’ उनी भन्छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *