प्रधानमन्त्री ओली डिस्चार्ज, मुस्कान दिएर भने, ‘म ठिक छु’

डिसी नेपाल
१४ कार्तिक २०७६ २०:२२

काठमाडौं। अस्वस्थ भएपछि बुधबार काठमाडौंको ग्राण्डी इन्टरनेशनल अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार साँझ डिस्चार्ज भएका छन्। उनी बिहीबार साँझ ८ बजेपछि अस्पतालबाट डिस्चार्ज भएर सरकार निवास बालुवाटार गएका हुन्।

अस्पतालबाट बाहिरिँदै गर्दा मुस्कानका साथ देखिएका प्रधानमन्त्री ओलीले आफु ठिक रहेको भन्दै शुभेच्छाका लागि सबैलाई धन्यावाद भनेका थिए।

मिर्गौलाले काम नगरेपछि दुई पटक डायलसिस गरिएपछि बिहीबार प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज भएका हुन्। बिहीबार अस्पतालले पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीको होमोडायलसिस गरिएको जानकारी दिएको थियो। अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले डायलसिसपछि प्रधानमन्त्रीको अवस्था सामान्य रहेको बताएका थिए।

करिब १३ वर्षअघि भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका ओलीले त्यसयता लगातार औशधि सेवन गरिरहेका छन्। गत भदौमा पनि प्रधानमन्त्री ओली दुई पटक उपचारका लागि सिंगापुर गएका थिए। त्यहाँ उनी पछिल्लो पटक १५ दिन बसेर भदौ २० मा स्वदेश फर्किएका थिए।

सिंगापुरबाट फर्केपछि पनि प्रधानमन्त्री ओली ४ पटक अस्पताल पुगिसकेका छन्। पछिल्लो पटक बिहीबार होमोडायलसिस गरिएको अस्पतालले जनाएसँगै ओलीको मिर्गौलाले काम गर्न छोडेको पुष्टि भएको छ। अब फेरि पनि ओलीको डायलसिस गर्नुपर्ने सम्भावना रहेको छ। वालुवाटारमा पनि प्रधानमन्त्री ओली चिकित्सकको निगरानीमा रहने स्रोतले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *