१३ करोड राजश्व छली: चिनियाँ नागरिकसहित ४ जनाविरुद्ध मुद्दा
फाईल तस्बिर
काठमाडौँ । तेह्र करोड राजश्व छली गरेको आरोपमा एक कन्सट्रक्शन इन्जिनीयर कम्पनीका सञ्चालकविरुद्ध मुद्दा चलाइएको छ।
राजश्व अनुसन्धान विभाग ललितपुरले झुट्टा तथा नक्कली बीजक प्रयोग गरी राजश्व छली गरेको भन्दै नेपाल दोङ्गहवा कन्सट्रक्शन इन्जिनीयरिङ कम्पनीका सञ्चालकहरु याङ लिन, शे श्याङ जुन, वे देगुइ र सुविन श्रेष्ठविरुद्ध आज काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। घटनाका आरोपी तीन जना चिनियाँ नागरिक हुन्।
राजश्व चुहावट गरेको अभियोगमा रु १३ करोड १३ लाख ११ हजार बिगो कायम गरी बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्ष कैदको मागदाबी लिई मुद्दा दर्ता गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।
उनीहरु अहिले प्रहरी हिरासतमा छन् । उक्त कम्पनीले वस्तु तथा सेवा खरीद नै नगरी झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर बीजक मात्र खरीद गरी राजश्व चुहावटमा संलग्न रहेको अनुसन्धानमा देखिएको उनले बताए ।
उक्त कम्पनीविरुद्ध राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार मूल्य अभिवृद्धि करतर्फ चार करोड २१ लाख, आयकरतर्फ सात करोड ७७ लाख र भएको आय लुकाई मुनाफा वितरण गर्दा लाग्ने लाभांश करतर्फ रु एक करोड १४ लाख राजश्व चुहावट गरेको विभागले दाबी गरेको छ।
उनीहरुविरुद्ध विभागले गत आठ महिनादेखि अनुसन्धान गरिरहेको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment