अवैध जुवातासविरुद्ध नेपाल प्रहरीको कारबाही तीब्र

डिसी नेपाल
२९ कार्तिक २०७६ १७:१३

काठमाडौं । नेपाल प्रहरीले जुवातास खेल्नेहरुविरुद्ध कारबाहीको दायरा बढाएको छ । देशका विभिन्न स्थानमा नेपाल प्रहरीले अनुसन्धान गर्दै दोषीलाई कडा कारबाही गर्ने अप्रेसन नै चलाएको छ ।

२०७६ सालको तिहार संघारमै आइसकेको थियो । काठमाडौं महानगरपालिका ३ महाराजगंज पिपलमार्ग बस्ने ३० वर्षीय विक्रम गौतमको घरमा जुवातास खेलिरहेको सूचना प्राप्त भयो ।

महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले गौतमको घरमा तास खेलिरहेका गौतमसमेत २५ जनालाई कात्तिक १० गते पक्राउ गर्यो ।

उनीहरुको साथबाट नगद २ करोड ६७ लाख रुपैयाँ र ३ लाख रुपैयाँ बराबरको बैंक चेक बरामद भयो । नेपालीहरुको महान चाड तिहारको समयमा पक्राउ परेका उनीहरुको तिहार प्रहरी हिरासतमै गुज्रियो ।

कास्की, पोखरा महानगरपालिका(६ पहारीमार्गस्थित होटल क्रिष्टल प्यालेसमा जुवातास खेलिरहेको अवस्थामा होटलका संचालक २९ वर्षीय छवी पौडेल समेत ९ जनालाई कात्तिक ९ गते प्रहरीले पक्राउ गर्यो ।

उनीहरुबाट नगद १० लाख, ५८ हजार ५ सय १० रुपैयाँ बरामद भयो । तिहारको समयमा जुवातास खेलिरहेको अवस्थामा एकै स्थानबाट ठूलो रकमसहित धेरै जना मानिस पक्राउ परेका यी प्रतिनिधिमूलक उदाहरण मात्र हुन् ।

काठमाडौं उपत्यकाभित्र र बाहिरका यी प्रतिनिधि घटनाले जुवा नियन्त्रणमा देशभरी नै प्रहरी सक्रिय छ र प्रहरीले आफ्ना कारबाही तीव्र पारेको छ भन्ने पुष्टी हुन्छ ।

यस वर्ष प्रहरीले तिहारको समय कात्तिक ३ देखि १३ गतेसम्मको अवधिमा जुवातासविरुद्धको कारवाहीमा देशभरका विभिन्न ४३ स्थानबाट ३ महिलासहित जम्मा ४ सय ६५ जना पक्राउ गर्यो । उनीहरुबाट ३ करोड ३० लाख रुपैयाँ बरामद भयो ।

देशका विभिन्न भागमा गैरकानुनी रुपमा जुवातास खेल्ने, खेलाउनेविरुद्ध कडा कारवाही गर्ने प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्देशनमा थालिएको विशेष अभियानको क्रममा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा सर्वसाधारणदेखि विभिन्न जिम्मेवार पदमा रहेका व्यक्तिहरुसमेत छन् । विशेष गरी चाडबाडको नाममा पछिल्लो समयमा जुवातास खेल्ने क्रम मौलाएपछि प्रहरीले जुवातास रोक्न विशेष जोड दिएको हो ।

चाडबाड शुरु भएलगत्तै प्रहरीले शंकास्पद ठाउँको निगरानी राखेकै कारण जुवाडेहरु पक्राउ गर्न सहज भएको हो । समुदाय–प्रहरी साझेदारी कार्यक्रम मार्फत गरिएको सचेतनामूलक कार्यक्रमको प्रभावले नागरिकबाट सूचना प्राप्त भएकोले पनि यस्ता गतिविधि नियन्त्रण गर्न प्रहरीलाई सहज भएको हो ।

जुवातास नियन्त्रणमा प्रहरीको सक्रियता र अनुसन्धानबारे नेपाल प्रहरीका केन्द्रीय सहप्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी भन्छन्, ‘प्रहरीको सक्रियता, नागरिक समाज र पीडित परिवारको स्रोतबाट आउने गोप्य सूचनाको आधारमा जुवातास खेल्ने व्यक्तिहरु पक्राउ पर्ने गरेका छन् ।’

मुलुकी अपराध (संहिता) ऐन, २०७४ अन्तर्गत कारवाही मात्रै होइन, उनीहरुबाट बरामद रकमको स्रोततर्फ समेत प्रहरीको ध्यान केन्द्रीत भएको छ । ‘आवश्यक परे सम्पत्ति शुद्धिकरण मार्फत पनि अनुसन्धान हुन्छ ।’ प्रहरीले जनाएको छ ।

जुवातासका कारण सामाजिक समस्या निम्तिन्छ । यस्तो नहोस् भन्नका खातिर नेपाल प्रहरी वर्षैभरि देशभरिका कुना कन्दरासम्म जुवातासजस्ता विकृति विसंगति नियन्त्रण गर्न लागिपर्दै आएको हो ।

यस क्रममा गोप्य सूचनाको आधारमा पनि धेरै मानिसहरु पक्राउ पर्ने गरेका छन् । पक्राउ संख्या खासगरी दशैं तिहार जस्ता चाडपर्वको समयमा ह्वा्त्तै बढ्ने गरेको छ । विगत ३ वर्षको अवधिमा जम्मा ७ हजार १ सय ९७ जना पक्राउ परेका छन् ।

तथ्यांक अनुसार आ.व. २०७५÷०७६ मा जम्मा ३ सय ९१ मुद्दा दर्ता भएका थिए भने जम्मा २ हजार ८ सय ६९ जना पक्राउ परेका थिए । त्यस्तै आ.व. २०७४÷०७५ मा ३ सय ५९ मुद्दा दर्ता भएका थिए भने २ हजार ८ सय २४ जना पक्राउ परेका थिए ।

यसैगरी आ.व. २०७३÷०७४ मा २ सय ६ वटा मुद्दा दर्ता भएका थिए भने १ हजार ५ सय ४ जना पक्राउ परेका थिए । जुवातास खेलमा संलग्न व्यक्तिहरुलाई गर्ने कारवाहीमा नेपाल प्रहरीले तीव्रता ल्याएको कारण पछिल्लो समय ठूलो संख्यामा यस्ता व्यक्तिहरु पक्राउ परेको प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीको भनाइ छ ।

व्यक्तिका नीजि घरकोठा, होटल, रेष्टुरेण्ट, गेष्टहाउस, रिसोर्टलगायतका स्थानहरुमा मानिसहरु जुवातास खेल्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ । कतिपय एकान्तस्थल पनि जुवाडेका लागि उपयुक्त छनौटस्थल भएको मानिन्छ ।

प्रायः तास र कुनै स्थानमा कौडा समेत खेल्ने गरेको पाइन्छ । विविध व्यवसाय, जागिर लगायत विभिन्न पेशामा संलग्न व्यक्तिहरु जुवा खेलमा संलग्न भेटिन्छन् ।

एउटै जुवा खालबाट एकै पटक यति ठूलो परिमाणमा रकमसहित मानिस पक्राउ गर्न सफल महानगरीय प्रहरी वृत्त महाराजगंजका प्रमुख प्रहरी नायव उपरीक्षक उमेश लम्साल भन्छन्, ‘विशेष सूचनाको आधारमा अनुसन्धानमा खटियौं । सुक्ष्म अनुसन्धान र खोजी गर्ने क्रममा उनीहरु पक्राउ परे । उनीहरुमध्ये केही व्यक्तिहरु आपराधिक पृष्ठभूमिबाट आएका र पटके अपराधी समेत भएको खुल्न आएको छ । उनीहरुउपर सम्पत्ति शुद्धिकरण विभागमा पत्राचार समेत गरी थप अनुसन्धान भइरहेको छ ।’

मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद(५ सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसूर अन्तर्गत जुवा खेल्न र सट्टाबाजी गर्न नहुने उल्लेख छ । जसअनुसार पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई ३ महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

दोस्रो पटक जुवा खेल्ने वा खेलाउनेलाई १ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र त्यसपछिको कसूरमा पटकै पिच्छे थप ३ महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

जुवाकै कारण पाण्डबहरु १२ वर्ष वनबास र एक वर्ष गुप्तबास बस्नु परेको पौराणिक कथामा उल्लेख छ । कथामाझैं जुवातास खेलेर दुर्गति भोग्नेहरुका लागि यो यथार्थ पाठ भएपनि कतिपय व्यक्तिहरु अझै सचेत हुन नसकेको देखिन्छ ।

जुवा सामाजिक रुपमा निन्दनीय र कानुनी रुपमा दण्डनीय छ । जुवाको कारण समाजमा आपराधिक घटना बढ्न सक्छन् । मानिसको सामाजिक प्रतिष्ठा गुम्छ । जीवन व्यर्थ र बर्बाद बन्छ । जीवनलाई मूल्यहीन बनाउने यस्तो कुकर्म नगरेकै राम्रो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *