२५ करोड भारूमा बनेको आयुस्मानको फिल्मले कमायो एक सय करोड

डिसी नेपाल
१ मंसिर २०७६ १७:४८

मुम्बइ। बलिउडका ‘हिट मेसिन’ भनेर चिनिन थालेका अभिनेता आयुस्मान खुरानाको नयाँ फिल्म ‘बाला’ले एक सय करोड भारू कमाइ कटाएको छ। यो खबरले आयुस्मानदेखि निर्माता-निर्देशक र पूरै फिल्म टोली उत्साहित भएको हिन्दुस्तान टाइम्सले लेखेको छ। नहुन् पनि किन, एक सय करोड भारू कमाउन बलिउडमा ‘सुपरस्टार’ हरूलाई समेत हम्मे परेको छ।

महँगा फिल्मले आफ्नो लगानी उकास्न नसेककाले कम बजेटको ‘बाला’ बक्सअफिसमा चम्किरहेको छ। ‘बाला’ जम्मा २५ करोड भारूमा बनेको हो। यो रकम बलिउडका कुनै सुपरस्टारको एक फिल्मको पारिश्रमिक आसपास हो। अमर कौशिकको निर्देशनमा बनेको ‘बाला’मा आयुष्मानका अलावा भूमि पेडनेकर, यमी गौतम, सिमा पाहवा, जावेद जाफरी तथा सौरभ शुक्लाको प्रमुख भूमिका छ। ‘बाला’ ले रिलिजकै दिन हिट हुने संकेत गरेको थियो। सुरू दिनै यसले दस करोड भारू कमाइ गरेको थियो।

फिल्मले २५ वर्षको उमेरबाट आफ्नो कपाल गुमाउन थालेको एक युवकको भोगाइको कथा पेश गर्छ। आयुस्मानजस्ता कुशल अभिनेताले कम बजेटकै फिल्म खेलेर लगातार सात वटा हिट फिल्म दिइसके। अझ यसअघिको ‘अन्धाधुन’ले त चीनमा समेतगरी चार सय करोड भारूभन्दा बढी कमाइसकेको छ। यसैले त आयुस्मानलाई ‘हिट मेसिन’ भन्न थालिएको हो।

सन् २०१२ मा ‘विक्की डोनर’मार्फत् बलिउड प्रवेश गरेका आयुस्मानले हालसम्म १३ वटा फिल्म खेले जुन सबै कम बजेटका थिए। यीमध्ये उनका ९ वटा फिल्म हिट छन्। सन् २०१७ यता त उनका सबै फिल्मले एक सय करोड कमाइ कटाइसकेका छन्।

‘बाला’ को कमाइ अझै बढ्ने सम्भावना छ। आयुस्मान आफ्नो नयाँ फिल्म ‘शुभ मंगल ज्यादा सावधान’को तयारीमा व्यस्त छन्। यसअघि उनी अमिताभ बच्चनसँगै ‘गुलाबो सिताबो’ मा देखिनेछन्। ‘शुभ मंगल ज्यादा सावधान’ मा उनले समलिंगीको भूमिका निर्वाह गर्दैछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *