भक्तपुर उपनिर्वाचन : १९ जना चुनाबी मैदानमा, नेकपा, कांग्रेस र नेमकिपाबीच कडा टक्कर

अमृत पौडेल
३ मंसिर २०७६ ९:५४

काठमाडौँ । यहि मंसिर १४ गते हुने उपनिर्वाचनले देशैभरको राजनैतिक माहोल तातेको छ । देशभर ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तह प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि निर्वाचन हुँदैछ ।

त्यसमध्ये काठमाडौँ उपत्यकाकै भक्तपुर १ (क) मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । संघीय राजधानीको सबैभन्दा नजिकको उपनिर्वाचन हुने क्षेत्र मात्रै नभएर गत निर्वाचनमा आएको नाटकीय परिणामले पनि यहाँको उपनिर्वाचन अझ रोचक हुने देखिन्छ ।

यसअघि २०७४ सालको निर्वाचनमा देशभर तत्कालिन (एमाले –माओवादी)को बाम गठबन्धन हुँदा यस क्षेत्रमा भने एमाले–माओवादीले छुट्टाछुट्टै उम्मेद्वार उठाएका थिए । जसमा माओवादीका देवी प्रसाद ढकाललाई हराउँदै एमाले उम्मेद्वार हरिशरण लामिछानेले बाजी मारेका थिए । लामिछानेको गत वैशाख ३१ मा हृदयघातबाट निधन भएपछि प्रदेशसभा सदस्य पद रिक्त रहेको छ।

मंसिर १४ गते भक्तपुर १ (क) मा हुने उपनिर्वाचनका लागि सत्ताधारीदल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सहित ९ दल र १० स्वतन्त्र उम्मेद्वारले उम्मेद्वारी दर्ता गराएका छन् । प्रदेशसभा सदस्य पदका लागि उम्मेद्वारी दर्ता गराउनेहरुमा नेकपाबाट देवी प्रसाद ढकाल, नेपाली कांग्रेसका कृष्णलाल भंडेल, नेमकिपाका निरज लवजु, साझा पार्टीका सुरज प्रधान, समाजवादी पार्टी नेपालका सुर्दशन कुमार मनकर्मी, राप्रपाका श्याम प्रसाद नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मिङमार लामा, नेकपा (माले)का सुर्दशन लामिछाने र नेपाली काँग्रेस (विपी) का मधुसुधन न्यौपानेले उम्मेद्वारी दर्ता गराएका छन् ।

यस्तै स्वतन्त्र १० उम्मेद्वारहरुमा कृष्ण प्रसाद ह्योमो, जीवन नेपाली, कृष्णराम पोतामाहा, अर्जुन कोजु, उत्तम साखाकर्मी, राकेश सुवाल, सुमन कार्की, जीवन चन्द्र अधिकारी, संगीता पौडेल आचार्य र सुजता देउजाले उम्मेदवारी दर्ता गराएका छन् । यसअघि उम्मेद्वारी दर्ता गराएका मध्ये आमुल परिर्वतन मसिहा पार्टीका डिल्ली प्रसाद चौलागाई र राप्रपा (संयुक्त) का रामशरण लामिछानेको उम्मेद्वारी खारेज भएको छ ।

रामशरण यसअघि निर्वाचित हरिशरण लामिछानेका दाजु हुन् । उनी अघिल्लो निर्वाचनमा समानुपातिक उम्मेदवार रहेको भन्दै निर्वाचन आयोगले उनको नाम खारेज गरिदिएको हो । भक्तपुर क्षेत्र नम्वर १ (क) मा चाँगुनारायण नगरपालिकाका सबै वडा र भक्तपुर नगरकाको १० नम्बर वडा पर्दछन् । हाल ४५ हजार ३६ जना मतदाता रहेको यस निर्वाचन क्षेत्रमा र २१ वटा मतदान केन्द्र रहेका छन् ।

अघिल्लो निर्वाचनको मत परिणाम

२०७४ सालमा भएको पहिलो प्रदेशसभा निर्वाचनमा भक्तपुर १ (क) मा एघार जनाले चुनावी प्रतिस्पर्धा गरेका थिए । जसमा तत्कालिन (एमाले) उममेद्वार बनेका हरिशरण लामिछाने २ हजार ८ सय १२ मतको अग्रताले विजयी भएका थिए । उनले १२ हजार ७ सय ९ मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका जीवन खत्रीले ९ हजार ९ सय ७७ मत पाएका थिए ।

त्यस्तैगरी नेपाल मजदुर किसान पार्टीका उममेद्वार निरज लवजूले ७ हजार १९, बाम गठबन्धनका देवि प्रसाद ढकाल ७ सय ४, विवेकशील साझाका काली चरण कार्की ४५, नयाँ शक्ति पार्टी नेपालका सानु प्रसाद वन ७८, कांग्रेस (विपी) का शंकर प्रसाद गौतम २१ र स्वतन्त्र उम्मेद्वार लक्ष्मण तिमिल्सिना १०, राजेन्द्र तिमिल्सिना ९ तथा श्यामकृष्ण अवालले ८ मत ल्याएका थिए।

नेकपा उम्मेद्वार देवी प्रसाद ढकाल

मंसिर १४ गते भक्तपुर–१ प्रदेशसभा (क) मा हुने उपनिर्वाचनमा सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट देवि प्रसाद ढकालले उम्मेद्वारी दर्ता गराएका छन् । ढकाल यस अघि २०७४ सालमा भएको पहिलो प्रदेशसभा निर्वाचनमा पराजित भएका थिए । त्यस निर्वाचनमा ७८४ मत पाएका ढकाल चौँथो स्थानमा रहेका थिए।

तत्कालिन निर्वाचनमा (एमाले–माओवादी केन्द्र)बीच बाम गठबन्धनबाट उम्मेद्वार छनोट भएपनि भक्तपुर १ (क) मा दुवै दलले छुट्टा छुट्टै उम्मेद्वार उठाएका थिए । अघिल्लो निर्वाचनमा नराम्रोसँग पराजय भोगेका ढकालले यस निर्वाचनमा तत्कालिन विजयी (एमाले) उम्मेद्वार लामिछानेको मत मात्रै आफ्नो पोल्टामा पार्नसके चुनाव जित्नेछन्।

नेपाली कांग्रेसका कृष्णलाल भंडेल

कांग्रेस उम्मेद्वार भँडेलपनि भक्तपुर क्षेत्रमा निकै लोकप्रिय मानिन्छन् । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भक्तपुर १ बाट कांग्रेस उम्मेद्वार बनेका भँडेल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेसँग पराजित भएका थिए । यसअघि २०७४ सालको निर्वाचनमा कांग्रेस उम्मेद्वार जीवन खत्रीले ल्याएको ९ हजार ९ सय ७७ मत जोगाउँदै २ हजार ८ सय १२ मत अन्तरलाई उछिन्न सके निर्वाचन परिणाम आफ्नो पोल्टामा पार्न सक्नेछन्।

नेमकिपा उम्मेद्वार निरज लवजु

नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छे ४ पटकसम्म प्रतिनिधिसभा सदस्यमा विजयी भएको क्षेत्रभित्र पर्ने भक्तपुर–१ प्रदेशसभा (क) मा यसपटक पनि नेमकिपाले नेता निरल जवजुलाई उम्मेद्वार बनाएको छ । लवजु यसअघि भएको पहिलो प्रदेशसभा निर्वाचनमा यसै क्षेत्रबाट पराजित भएका थिए । लवजुले अघिल्लो निर्वाचनमा ७ हजार १९ मत ल्याएरका थिए।

नेमकिपाको आधारक्षेत्र मानिने भक्तपुर–१ बाट प्रतिनिधिसभा सदस्यमा प्रेम सुवाल १५ हजारबढी मतान्तरमा ३३ जहार ७६ मत ल्याएर विजयी भएका थिए । अहिल्लो निर्वाचनको परिणाम हेर्दा विजयी असम्भव जस्तो देखिएपनि नेमकिपाको आधारक्षेत्र, अध्यक्ष नारायणमान बिजुक्छे र सांसद् प्रेम सुवाल जनप्रतिनिधि भएका कारण लवजुलाई मतदातासँग भिज्न सहज हुनसक्छन । उनले अघिल्लो निर्वाचनको मत जोगाउँदै थपिएका ६ हजार ६० मतदातालाई आफ्नो पक्षमा पार्नसकेमात्रै पनि विजयी आफ्नो पोल्टामा पार्न सक्नेछन् ।

अन्य उम्मेद्वारहरु

भक्तपुर १ (क) मा हुने उपनिर्वाचनमा साझा पाटीले पनि उम्मेद्वारी दर्ता गराएको छ। साझा पार्टीब यस क्षेत्रमा सुरज प्रधानले उम्मेद्वारी दर्ता गराएका छन् । यसअघि २०७४ सालको निर्वाचनमा देशकै बैकल्पिक शक्ति निर्माण गर्ने भन्दै निर्वाचन लड्डा यहाँ तत्कालिन साझा विवेकशील पार्टीका उम्मेद्वार काली चरण कार्कीले ७ सय ८३ मत पाएका थिए । अहिलो सो पार्टी दुई चिरामा विभाजित भईसकेको छ।

त्यस्तै सत्तारुढ दल समाजवादी पार्टी नेपालबाट सुदर्शन कुमार मनकर्मी यस क्षेत्रमा उम्मेद्वार बनेका छन् । यसअघि भक्तपुर २ (क) मा तत्कालिन बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालका उम्मेद्वारलाई संघीय समाजवादी फोरमले सघाएको थियो । अहिलो यी दुई पार्टी एकीकृत भएर समाजवादी पार्टी नेपाल बनेको छ । अघिल्लो निर्वाचनमा तत्कालिन नयाँ शक्तिका उम्मेद्वार सानु प्रसाद वनले ७८ मत मात्रै पाएका थिए ।

१४ गते हुने उपनिर्वाचनमा ९ दल र १० स्वतन्त्र उम्मेद्वार चुनावी मैदानमा उत्रिएका छन् । २०७४ सालको निर्वाचनमा भन्दा ६ हजार ६० नयाँ मतदाता थपिएको यस क्षेत्रमा नेकपा, नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टीका उम्मेद्वारबीच त्रिपक्षीय भिडन्त हुने देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *