‘राइड थ्रु सिन्धुलीगढी’ साइकल यात्रामा २०४ जना सहभागी हुने

डिसी नेपाल
५ मंसिर २०७६ १६:२२

काठमाडौं । काठमाडौंबाट शुक्रबार सुरु हुने ‘राइड थ्रु सिन्धुलीगढी’ साइकल यात्राको तयारी पूरा भएको छ ।

साइकल यात्राको शुक्रबार बिहान पर्यटनमन्त्री योगेश भट्टराईले पशुपतिनाथ मन्दिर परिषरबाट उद्घाटन गर्ने कार्यक्रम छ । समृद्ध सिन्धुली अभियानले हरेक वर्ष आयोजना गर्दै आएको साइकल यात्रामा यस वर्ष उल्लेख्य सहभागिता हुने भएको छ ।

राइड थ्रु सिन्धुलीगढीकी संयोजक दीपिका ज्ञवालीका अनुसार १६७ जना साइकलयात्री सहभागी हुने भएका छन् । त्यसमा पुरुष १ सय ४८ जना र महिला १८ जना हुनेछन् ।

यात्रामा सहयोगीसहित २ सय ४ जना सहभागी हुने उनले बताइन् । यस वर्ष संयुक्त राष्ट्र संघ र ब्रिटिस काउन्सिलले महिला साइकल यात्रीलाई प्रायोजन गरेकाले महिलाको संख्या उल्लेख्य भएको उनले बताइन् ।

संयुक्त राष्ट्र संघले १० जना र ब्रिटिस काउन्सिलले ५ जना महिला यात्रीको सम्पूर्ण खर्च बेहोर्ने भएको समृद्ध सिन्धुली अभियानका अध्यक्ष लिलानाथ घिमिरेले जानकारी दिए ।

समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीको प्रवद्र्धन गर्न चार वर्षदेखि राइड थु्र सिन्धुलीगढी आयोजना गर्दै आएको छ । राइड थ्रु सिन्धुलीगढीलाई ब्राण्डिङ गरेर विदेशीलाई समेत सहभागी गराउने गरी साइकल यात्रा थालिएको घिमिरेले बताए ।

यस वर्ष संयुक्त राष्ट्र संघ, ब्रिटिस काउन्सिल जस्ता अन्तराष्ट्रिय संस्था हाम्रो साइकल यात्रासँग जोडिएका छन् । आयोजक समृद्ध सिन्धुली अभियानका अध्यक्ष घिमिरेले भने, ‘हाम्रो साइकल यात्राले अन्तर्राष्ट्रिय पहिचान पाएको छ ।

यो नेपालीहरुका लागि गौरवको कुरा हो । संयुक्त राष्ट्र संघले लैङ्गिक विभेद बिरुद्धको १६ दिने अभियानकै सन्दर्भ पारेर यात्रामा महिला सहभागिता बढाउन साइकल यात्रीलाई प्रायोजन गरेको उनले बताए ।

यस वर्ष मंसिर ९ गते (नोभेम्बर २५) देखि लैंगिक विभेदविरुद्धको अभियान सुरु हुँदैछ । पहिलो वर्ष सिन्धुलीगढीसम्म लगिएको साइकल यात्रा दुई वर्षदेखि जनकपुरसम्म विस्तार गरिएको छ । यस वर्षको साइकल यात्रा मंसिर ६ गतेदेखि ९ सम्म ४ दिन हुने छ ।

साइकल यात्राको स्टोरी साइकल, सानो पाइला, फ्याक्ट्स नेपाल, सिन्धुलीय श्रेष्ठ समाजलगायतका संस्था सह–आयोजक रहनेछन् । साइकल यात्रालाई पर्यटन बोर्डले प्रवद्र्धनमा सघाउँदै आएको छ । साइकल यात्रामा अभियानले प्रदेश नम्बर ३ सँग सहकार्य गरेको छ ।

राइड थ्रु सिन्धुलीगढी साइकल यात्रालाई विश्व साइकलयात्री पुस्कर शाह र अर्का यात्री देवेन्द्र बस्नेतले नेतृत्व गर्नेछन् ।

अभियन्ता हरिकृष्ण श्रेष्ठका अनुसार काठमाडौंको पशुपतिनाथ परिसरबाट सुरु हुने साइकल यात्रालाई बाटोमा पर्ने भक्तपुर, काभ्रे, सिन्धुली, महोत्तरी र धनुषा जिल्लाका स्थानीय तह, संघ संस्था, नेपाली सेना, नेपाल प्रहरी, विद्यालयहरुले साइकल यात्रीलाई खाजा, पानी, स्वास्थ्य शिविरलगायतको व्यवस्था गरेर भव्य स्वागत गर्ने तयारी गरेका छन् ।

सिन्धुलीको सुनकोशी गाउँपालिकाले मंसिर ७ गते साइकल यात्रीको स्वागतमा सुनकोशी महोत्सव गर्ने भएको छ । साइकल यात्री पहिलो दिन सिन्धुलीको मुलकोटमा बास बस्ने छन् । बास बसेको ठाउँमा सांस्कृतिक कार्यक्रम हुने छ । दोस्रो दिन साइकल यात्रीको स्वागतमा जुनार उत्पादन क्षेत्र सिन्धुलीको खनियाँखर्कमा जुनार महोत्सव हुने छ ।

त्यहाँ प्रदेश नम्बर ३ का पर्यटनमन्त्री अरुण नेपालले साइकल यात्रीको स्वागत गर्नुका साथै जुनार महोत्सवको उद्घाटन गर्नेछन् । त्यसपछि साइकल यात्रीले ऐतिहासिक सिन्धुलीगढी पुगेर त्यहाँका सम्पदाको अवलोकन गर्नेछन् ।

त्यहाँबाट सिन्धुलीमाढी झरेर साइकल यात्रीहरु सिन्धुली कला घरले गर्ने सांस्कृतिक कार्यक्रममा सहभागी हुनेछन् । तेस्रो दिन साइकलयात्री मिथिलाको सांस्कृतिक सहर जनकपुरधाममा आयोजना गरिने मैथिल लोक संस्कृतिसहितको सांस्कृतिक कार्यक्रममा सहभागी हुनेछन् । त्यहाँ २ नम्बर प्रदेश सरकारका उच्च अधिकारीहरुले साइकल यात्रीलाई स्वागत गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

चौथो दिन बिहान जनकपुरमा स्थानीयसमेत १ हजार ५ सय साइकलयात्रीले नगर परिक्रमा गर्ने कार्यक्रम राखिएको छ । काठमाडौंबाट झण्डै २ सय ५० किलोमिटर यात्रा गरेर साइकल यात्री जनकपुरसम्म पुग्ने छन् ।

अभियानले ऐतिहासिक सिन्धुलीगढीलाई सांस्कृतिक सहर जनकपुर र पशुपतिको सहर काठमाडौंलाई ऐतिहासिक सिन्धुलीगढी हुँदै जोड्ने छ । राइड थ्रु सिन्धुलीगढीले पहाडलाई तराईंसँग र २ नम्बर प्रदेशलाई २ नम्बर प्रदेशसँग भावनात्मक रुपले जोड्ने विश्वास लिएको छ ।

तत्कालीन अंग्रेजी फौजलाई गोर्खाली सेनाले परास्त गरेको ऐतिहासिक स्थल सिन्धुलीगढीलाई संसारसामु चिनाएर पर्यटन प्रवद्र्धन गर्ने अभियानको योजना छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *