काठमाडौंको आकाशमा अनौठो विमान
काठमाडौं। शनिबार बिहान राजधानीको आकाशमा अनौठो विमान देखापरेपछि उपत्यकाबासी अचम्मित भएका थिए। राजधानीलाई दुई फन्को लगाएको उक्त अनौठो जहाज कहाँबाट नेपाल प्रवेश गर्यो र कुन प्रयोजनका लागि सो विमानले राजधानीको परिक्रमा गर्यो भन्ने विषयमा कसैले पनि त्यसको उत्तर दिन सकेन।
हवाई क्षेत्रका जानकारहरूले उक्त विमान भारतीय एयरफोर्सको विमान भएको दाबी गरेका छन् भने सरकारी अधिकारीहरूले त्यसका बारेमा आफूहरू अनभिज्ञ रहेको बताएका छन्।
नेपाली सेनाका प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले त्यस बारेमा आफूलाई कसैले कुनै जानकारी नगराएको जानकारी दिए।
शनिबार बिहान ७ बजेर २५ मिनेट जाँदा काठमाडौंको आकाशमा देखिएको उक्त विमान पश्चिम दिशातर्फ लागेको प्रत्यक्षदर्शी सुमन पाण्डेले नेपाल समाचारपत्रलाई जानकारी दिए।
भारतले हालै जारी गरेको नयाँ नक्सामा पश्चिम नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई भारततर्फ पारेपछि नेपालमा अहिले भारत विरोधी स्वर तीव्ररूपमा बढिरहेका बेला अनौठो विमानको नेपाल प्रवेशलाई अर्थपूर्णरूपमा हेरिएको छ।
अनौठो विमानले छाडेको धूवाँको मुस्लो एक किलोमिटर परसम्म लामो समयसम्म देखिएको थियो। नेपाल समाचारपत्र दैनिकबाट
No ads found for this position


डिसी नेपाल
Facebook Comment